सुन्दरहरैँचा / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ।
असत्यमाथि सत्यको विजय र अन्यायमाथि न्यायको प्रतीकका रूपमा मनाइने विजया दशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ। आजको दिन परिवारका सदस्य, आफन्तजन तथा इष्टमित्र एकै ठाउँमा भेला भएर टीका र जमरा लगाउने, आशीर्वाद लिने तथा आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने गरिन्छ। दसैँको टीकाले परिवार र आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै प्रेम, सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गर्दछ।
विजयादशमीका दिन टीका लगाउन बिहान १० बजेर २६ मिनेटको उत्तम साइत रहेको छ। यद्यपि, टीका लगाउन उक्त समय नै अनिवार्य नभई दिनभर लगाउन सकिने परम्परा रहेको छ। परिवारका सदस्य तथा आफन्तको अनुकूलता हेरेर आपसी सहमतिमा टीका लगाउने र आशीर्वाद आदानप्रदान गर्न सकिन्छ।
दसैँ केवल टीका र जमरा लगाउने चाड मात्र होइन, यो विगतका सम्झना, वर्तमानको आत्मीयता र भविष्यप्रतिको आशा जोड्ने सांस्कृतिक पर्व पनि हो। नयाँ लुगा, जुत्ता र मीठा परिकारसँगै टाढा रहेका आफन्तको सम्झना, बिछोडको पीडा र भेटघाटको खुसीले दसैँलाई अझ भावनात्मक बनाउँछ।
नभएका आफन्तको सम्झना, टाढा रहेका प्रियजनसँगको भेटको प्रतीक्षा र परिवारसँगै बसेर खुसी साटासाट गर्ने चाहनाले दसैँको महत्त्वलाई थप गहिरो बनाउँछ। जीवनका विभिन्न मोडमा आवश्यक पर्ने माया, स्नेह, सम्मान, हौसला र आत्मीयताको एकमुस्ट उपहारका रूपमा पनि दसैँलाई लिने गरिन्छ।
यस पर्वले पारिवारिक सम्बन्धलाई मजबुत बनाउनुका साथै समाजमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावना विकास गर्न प्रेरित गर्दछ। आपसी मनमुटाव बिर्सेर सम्बन्ध सुधार्ने, ठूलाबाट आशीर्वाद लिने र सानालाई माया तथा सद्भाव बाँड्ने अवसरका रूपमा पनि विजयादशमीलाई विशेष महत्त्वका साथ लिइन्छ। विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरू एकअर्कामा शुभकामना आदानप्रदान गर्दै सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरिरहेका छन्।
समग्रमा, विजयादशमी धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक एकता र मानवीय संवेदनाको सुन्दर संगम हो। यस पर्वले सबैमा सकारात्मक सोच, आपसी सद्भाव र नयाँ उत्साह सञ्चार गर्दै जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरिन्छ।





