सुन्दरहरैँचा / नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज नवरात्रिको नवौँ दिन अर्थात् महानवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।
आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा दुर्गा भवानीको नवौँ शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिमा चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेको धार्मिक मान्यता छ। यही कारण महानवमी पर्वलाई शक्तिको उपासना, असत्यमाथि सत्यको विजय र दुष्ट शक्तिको अन्त्यको प्रतीकका रूपमा विशेष महत्त्वका साथ लिने गरिन्छ।
नवरात्रिको नवौँ दिन पूजा गरिने माता सिद्धिदात्रीलाई सम्पूर्ण सिद्धि प्रदान गर्ने देवीका रूपमा मानिन्छ। धार्मिक विश्वासअनुसार यस दिन विधिपूर्वक माता सिद्धिदात्रीको पूजा–आराधना गर्नाले भक्तजनले सिद्धि, सफलता, ज्ञान र आध्यात्मिक शक्ति प्राप्त गर्न सक्छन्। देवीको कृपाले असम्भव मानिएका कार्यसमेत सफल हुने र जीवनमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।





