सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा समूहका अध्यक्ष सीताराम पाण्डेको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिका–९ का वडाध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। २०६० सालमा स्थापना भएको समूहले १५०.५५ हेक्टर क्षेत्रफलमा फैलिएको वनबाट सुन्दरहरैँचा नगरपालिका–९ र ११ का करिब एक हजार घरधुरीलाई काठ तथा दाउरा उपलब्ध गराउँदै आएको छ।
साधारणसभामा अध्यक्ष पाण्डेले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३/०८४ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार समूहले यस वर्ष १ हजार ७९८.४८ क्युफिट काठ कटान तथा बिक्रीको आदेश लिई ३ हजार ५८७.०१ क्युफिट काठ र आठ चट्टा दाउरा उपभोक्तालाई बिक्री वितरण गरेको छ।
समूहले विभिन्न संघसंस्थाका साथै गरिब तथा विपन्न उपभोक्ता र पीडित व्यक्तिलाई निःशुल्क काठ, दाउरा तथा नगद सहयोगसमेत गर्दै आएको जनाएको छ। वन संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षरोपणसमेत गरिएको प्रतिवेदनमा उल्लेख छ।
साधारणसभाका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने उपभोक्ताका छोरीहरू रेशिका खनाल र शारदादेवी तिम्सिनालाई सम्मान गरिएको थियो। त्यसैगरी, उत्कृष्ट टोल प्रमुखहरू कल्पना न्यौपाने, छविलाल घिमिरे र देवीबहादुर बुढाथोकीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा सबडिभिजन वन कार्यालय सलकपुरका प्रमुख मोहन अर्याल, कार्यपालिका सदस्य रुजा घिमिरे, प्रदेश वन महासंघका सदस्य अग्नि पौडेल, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लेखा समितिको प्रतिवेदन सोमराज गुरागाईंले प्रस्तुत गर्नुभएको थियो।





