सुन्दरहरैँचा / इटहरीकाे आँपगाछीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाका अवसरमा संस्थाको विकास र सञ्चालनमा योगदान पुर्याउने कर्मचारी तथा सेयर सदस्यलाई सम्मान गरिएको छ। साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, दुग्ध उत्पादन तथा बजारीकरण र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। सहकारीले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्दै दूध सङ्कलन, प्रशोधन तथा बजारीकरणमार्फत दुग्ध क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ।
संस्थाका अध्यक्ष यादव ढकालले सहकारीको प्रगति सदस्य, किसान र कर्मचारीको साझा प्रयासको परिणाम भएको बताए। उनले सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै दुग्ध उत्पादक किसानको हितमा काम गर्नुपर्नेमा जोड दिए। सदस्यहरूको विश्वास, कर्मचारीको मेहनत र किसानको निरन्तर सहयोगले संस्थालाई अघि बढ्न मद्दत पुगेको उनको भनाइ थियो।
साधारणसभाका अवसरमा कर्मचारी तथा सेयर सदस्यलाई सम्मान गर्दै संस्थाले उनीहरूको योगदानको कदर गरेको छ। सहकारीको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता, पारदर्शी व्यवस्थापन र किसानमुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको छ।
सहकारीले आगामी दिनमा दुग्ध उत्पादन तथा बजारीकरणलाई थप व्यवस्थित बनाउँदै किसानको आर्थिक अवस्था सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।





