;

मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचामा स्थानीय उत्पादन, मौलिक खाद्य परिकार, व्यापार, पर्यटन, कला–संस्कृति र मनोरञ्जनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ।

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा–१०, विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा फेस्टिभल सञ्चालन हुने भएको हो। फेस्टिभलका विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको तयारी, उद्देश्य, आकर्षण तथा व्यवस्थापनका विषयमा जानकारी दिएको छ। सुन्दर होटल पर्यटन व्यवसायी सङ्घ सह–आयोजक रहेको फेस्टिभलमा दुई लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागिएको फेस्टिभलमा स्थानीय तथा मौलिक खाद्य परिकार, नेवारी खाना, विभिन्न जातजातिका परम्परागत परिकार र सांस्कृतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ। स्थानीय स्वाद र संस्कृतिसँगै राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिले फेस्टिभललाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
फेस्टिभलमा चर्चित गायक रमेशपायल राई, सविन राई, रचना रिमाल, डम्बर नेपाली, प्रीति आले मगर, एलिना चौहान र मिलन परियारलगायत कलाकारको सांगीतिक प्रस्तुति उल्लेख गरिएकाे छ । स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागितामा सञ्चालन हुने सांगीतिक कार्यक्रमले चाडपर्वको रौनक थप्ने आयोजकको विश्वास छ।

फेस्टिभल बेलुका १० बजेसम्म सञ्चालन गरिनेछ। चाडपर्वको समयमा परिवारसहित मनोरञ्जन लिन सकिने वातावरण निर्माण गर्नुका साथै स्थानीय खानाका परिकार, व्यापारिक सामग्री, कृषि तथा घरेलु उत्पादन र हस्तकलाको प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइनेछ। दर्शक तथा बालबालिकालाई लक्षित विभिन्न मनोरञ्जनात्मक र खेलकुद गतिविधिसमेत सञ्चालन गरिनेछन्।

फेस्टिभलमा विभिन्न प्रकृतिका १४ वटा व्यावसायिक स्टल रहनेछन् भने स्थानीय उत्पादन तथा सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका लागि ६ वटा निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। यसबाट स्थानीय व्यवसायी, उद्यमी तथा उत्पादकलाई आफ्ना वस्तु र सेवाको प्रचारप्रसार तथा बजार विस्तार गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले फेस्टिभललाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादन, व्यापार, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए। स्थानीय व्यवसायीलाई बजारसँग जोड्ने, उपभोक्तालाई स्थानीय उत्पादनसँग परिचित गराउने र सुन्दरहरैँचाको आर्थिक तथा पर्यटकीय पहिचान विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। उनले फेस्टिभल सफल बनाउन व्यवसायी, स्थानीय तह, सञ्चारमाध्यम, सुरक्षा निकाय तथा आम नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरे।

फेस्टिभलका संयोजक ज्ञानप्रसाद ढकालले चाडपर्वको उल्लासलाई स्थानीय स्वाद, संस्कृति र मनोरञ्जनसँग जोड्ने गरी कार्यक्रमको तयारी गरिएको बताए। उनका अनुसार नेवारी परिकार तथा विभिन्न जातजातिका मौलिक खानालाई विशेष महत्त्व दिइनेछ। स्थानीय परिकारको प्रचारप्रसारसँगै सांगीतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिमार्फत सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ। उनले फेस्टिभलले स्थानीय कला, संस्कृति, भाषा, भेषभूषा तथा मौलिक परम्पराको संरक्षण र प्रचारप्रसारमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सङ्घका महासचिव हरि कार्कीले फेस्टिभललाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताए। उनका अनुसार कार्यक्रम अवधिभर सुरक्षा, सरसफाइ, विद्युत्, खानेपानी, पार्किङ, प्राथमिक उपचार तथा भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ। सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी र सरोकारवाला संस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिने उनले बताए।

आयोजकले फेस्टिभलबाट कुल एक करोड दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। टिकट बिक्रीबाट ८५ लाख रुपैयाँ, मुख्य प्रायोजक तथा सह–प्रायोजकबाट १० लाख रुपैयाँ र मनोरञ्जन तथा खेलकुद गतिविधिबाट ७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। त्यस्तै, कलाकार व्यवस्थापन, मैदान व्यवस्थापन, विद्युत्, बत्ती, खानेपानी, सरसफाइ, कर्मचारी पारिश्रमिक, अतिथि सत्कार, आवास, खाना, प्रचारप्रसार तथा छपाइलगायत शीर्षकमा कुल ८७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर करिब १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य आयोजकको छ। बचत रकम सङ्घको संस्थागत विकास, व्यवसायीको हित, सामाजिक उत्तरदायित्व तथा आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ।

फेस्टिभलको मुख्य प्रायोजक नेपालीरिका होटल रहेको छ। प्रायोजकमा पार्थिभरा फुड प्रोडक्ट, चामुण्डा फुड (बेली), कञ्चनजङ्घा इन्जिनियरिङ प्रा.लि., प्रणाम इँटा, प्रिन्स इँटा, टुबोर्ग बियर, म्याक्स टाइगर इनर्जी ड्रिंक्स, ग्रिनसिटी हाउजिङ र आर.एन.जी. ग्रुप रहेका छन्। आयोजकले फेस्टिभललाई सभ्य, सुरक्षित, व्यवस्थित, पारिवारिक तथा मनोरञ्जनपूर्ण बनाउन प्रतिबद्धता जनाएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापारको विस्तार, पर्यटनको विकास र सुन्दरहरैँचाको पहिचान स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको फेस्टिभलले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको सुन्दरहरैँचा उवासका पूर्व अध्यक्ष नवराज चापागाईंले जानकारी दिए।

तपाईको प्रतिक्रिया

;