सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, खोर्सानेस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभा तथा २५औँ स्थापना दिवस (रजत जयन्ती) विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।
इन्द्रपुर जेसीजको सभाहलमा आयोजित कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईँले हातेमालो सहकारीले २५ वर्षको यात्रामा सदस्यको विश्वास कायम राख्दै वित्तीय सेवासँगै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएको बताए। लामो समयसम्म निरन्तरता कायम राख्नु आफैँमा संस्थाको उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सदस्य तथा समुदायको हितमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा संस्थाका अध्यक्ष हेमराज सुवेदीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराए। उनले सहकारी बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई सदस्यलाई आर्थिक रूपमा सचेत, सक्षम, जिम्मेवार, अनुशासित तथा आत्मनिर्भर बनाउन केन्द्रित रहेको बताए। सहकारीले स्थानीय कृषकलाई उत्पादनसँग जोड्दै उत्पादन संकलन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरण मार्फत आयआर्जनसँग जोड्ने काम गर्दै आएको अध्यक्ष सुवेदीले बताए।संस्थाले शुद्ध तोरीको तेल, चामल, बेसारलगायत खाद्य सामग्रीसमेत बिक्री गर्दै आएको छ। संखुवासभाली बहुउद्देश्यीय सहकारी, जनभावना कृषि सहकारी र किस्ती जलाधार कृषि सहकारीसँग एकीकरण भएपछि संस्थाको कारोबार थप फराकिलो भएको उनले जानकारी दिए।
रजत जयन्तीका अवसरमा संस्थाले ‘हातेमालो स्मारिका–२०८३’ समेत प्रकाशन गरेको छ। १२९ पृष्ठको स्मारिकामा सहकारी क्षेत्रसँग सम्बन्धित लेख, रचना तथा विचारका साथै संस्थाको परिचय र विभिन्न प्रतिवेदन समेटिएका छन्। स्मारिका सम्पादन संयोजक गुरुप्रसाद अधिकारी तथा सदस्य बलराम पोखरेल र व्यवस्थापक योजना शर्माको संयोजनमा तयार गरिएको हो।
कार्यक्रममा संस्थाका पूर्वपदाधिकारी तथा पूर्वसञ्चालक गरी ७७ जनालाई ‘अग्रज सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै नयाँ शेयर सदस्यलाई स्वागत गर्दै लामो समयदेखि संस्थासँग आबद्ध ज्येष्ठ शेयर सदस्यलाई समेत सम्मान गरिएको थियो।
रजत जयन्तीका अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने सञ्चालकलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। व्यवस्थापक योजना शर्मालाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।
सञ्चालक समितितर्फ उपाध्यक्ष मीनप्रसाद लिम्बू र यज्ञप्रसाद ढकाल तथा कर्मचारीतर्फ वरिष्ठ सहायक कमला दाहाल बराल, सहायक तेजप्रसाद आचार्य र कनिष्ठ सहायक हिमादेवी अधिकारी सम्मानित भएका छन्। व्यावसायिक ऋणीतर्फ तेजकुमार श्रेष्ठ, टेकबहादुर खत्री र पदमबहादुर थापा, घरायसी ऋणीतर्फ मित्रजङ्ग थापा तथा कृषि ऋणीतर्फ राजेन्द्र शर्मा, टोसबहादुर श्रेष्ठ र प्रमिलाकुमारी महतो सम्मानित भएका छन्। नियमित बचतकर्तातर्फ इन्द्रमाया कार्की, रत्नमाया श्रेष्ठ र देवी राई तथा खुत्रुके बाल बचततर्फ श्रिया कार्की, सुगम तामाङ र नवनजंग कार्कीलाई सम्मान गरिएको थियो।
त्यस्तै २०८२ सालको एसईई परीक्षामा उत्तीर्ण शेयर सदस्यका छोराछोरीतर्फ रोयल देवकोटा, ओमप्रकाश पराजुली, स्वस्तिका शर्मा, शिशिर ढकाल, साहिल ढकाल र आदित्यराज बराललाई सम्मान गरिएको संस्थाले जनाएको छ।
रजत जयन्तीका अवसरमा संस्थाले साताव्यापी कार्यक्रमसमेत आयोजना गरेको थियो। जसअन्तर्गत असोज ११ गते आँखा शिविर, असोज १२ गते चेस प्रतियोगिता, असोज १३ गते अन्तरक्रिया तथा असोज १५ गते संस्थाको रजत जयन्ती लोगो अनावरण गरिएको थियो। खेलकुद प्रतियोगिताका विजेतालाई समेत कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो। चिठ्ठा कार्यक्रम सञ्चालन गरी भाग्यशाली सहभागीलाई विभिन्न पुरस्कारसमेत वितरण गरिएको थियो।
संस्थाका व्यवस्थापक योजना शर्माले २५ वर्षे यात्रामा सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकको निरन्तर साथ र विश्वासका कारण संस्था यहाँसम्म आइपुगेको बताइन् । आगामी दिनमा सदस्यलाई थप प्रभावकारी सेवा प्रदान गर्दै संस्थालाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लैजाने उनले जानकारी दिए।
संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि शेयर पूँजी, बचत तथा ऋण वृद्धि गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम पारित गरेको छ। ऋण असुलीलाई प्रभावकारी बनाउने, लघु उद्योग सञ्चालन गर्ने, नयाँ भवन निर्माण गरी अत्याधुनिक मिल सञ्चालन गर्ने, युवालाई सहकारीमा जोड्ने तथा सहकारी शिक्षा र तालिम सञ्चालन गर्ने योजना अघि सारेको छ।।संस्थाका सचिव गुरुप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मीनप्रसाद लिम्बूले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष अर्जुन बस्नेतलगायतले मन्तव्य राखेका थिए। संस्थामा हाल ५ करोड ९२ लाख ७२ हजार ७ सय रुपैयाँ शेयर पूँजी रहेको जनाइएको छ।





