;

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेको मौलिक शैलीको ज्येष्ठ नागरिक चौतारी समुदायलाई हस्तान्तरण गरिएको छ।

दुलालले आफ्नै १२ धुर जग्गामा निर्माण गर्नुभएको चौतारीमा नेपाली मौलिक कला र संस्कृतिको झल्को दिने गरी इँटा तथा काठमा आकर्षक बुट्टा प्रयोग गरिएको छ। चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ र निर्माण सामग्री ल्याइएको थियो। दुलाल दम्पतीको परिकल्पनामा दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको चौतारीको संरक्षण तथा मर्मतसम्भारको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबले लिने भएको छ। परिसरमा शौचालय, खानेपानी र किचनको समेत व्यवस्था गरिएको छ।

गत वर्ष जेनजी आन्दोलनका क्रममा दुलालले सञ्चालन गरेको नेपालीरिका होटल आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। व्यक्तिगत क्षति व्यहोरेपछि पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै दुलालले समुदायका ज्येष्ठ नागरिकका लागि आफ्नै जग्गामा संरचना निर्माण गरी हस्तान्तरण गर्नुभएको हो।

चौतारी हस्तान्तरण कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारको सामाजिक सेवाको प्रशंसा गर्दै चौतारीले ज्येष्ठ नागरिकलाई भेटघाट, अनुभव आदानप्रदान र विश्रामका लागि उपयोगी वातावरण बनाउने बताउनुभयो।

चौतारीमा पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरिएको दुलालले जानकारी दिनुभयो। संरचनाको रेखदेख तथा संरक्षणमा सुन्दर नमुना टोल विकास संस्थाले समेत सहयोग गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया

;