सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा रेबिजविरुद्धको खोप तथा जुकाको औषधि निःशुल्क वितरण सुरु गरेको छ।
२०औँ विश्व रेबिज दिवसको अवसरमा नगरपालिकाको पशुपन्छी सेवा उपशाखाले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाइनेछ। साथै, आवश्यकताअनुसार कुकुरलाई जुकाको औषधिसमेत निःशुल्क वितरण गरिने नगरपालिकाले जनाएको छ।
रेबिज रोगको जोखिम न्यूनीकरण तथा पशु स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो। नगरपालिकाले नगरवासीलाई आफ्ना घरपालुवा कुकुरलाई अनिवार्य रूपमा खोप लगाउन तथा सामुदायिक कुकुरलाई समेत खोप अभियानमा सहभागी गराउन आग्रह गरेको छ।





