सुन्दरहरैँचा / नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ ।
भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको उच्चारण गरिएको थियो ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै स नगरप्रमुख गुरागाईँले विपद्को समयमा सेनाले गर्ने कार्यको प्रशंसा गर्दै राष्ट्रको सीमा रक्षक सेनाको जति नै गुणगान गरे पनि कम हुने बताए । पूर्व सेनाको भवन निर्माणका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्न आफू तयार रहेको उहाँले बताए ।
पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले आफू जनप्रतिनिधि भएको बेला सुन्दरहरैंचामा भएको बाढीजन्य विपदमा सेनाले गरेको कार्य आफूले सधैँ स्मरण गर्ने बताए ।
जग्गादाता तेजप्रसाद सिटौलाले आफ्नी दिवङ्गत पत्नीको स्मृतिमा भूतपूर्व सैनिकको भवन निर्माणको लागि जग्गा दान गरेको उल्लेख गरे ।
कार्यक्रममा पूर्व सेना तथा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले स्वागत मन्तव्य राखेका थिए । संघका जिल्ला सभापति मोहन आचार्यको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघका सचिव राजन आचार्यले गरेका थिए ।





