मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैंचा–१० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. को २३औं वार्षिक साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति सामुदायिक भवनकाे सभाहलमा भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए । उनले <span;> यस सहकारी संस्थाले स्थानीय स्तरमा आत्मनिर्भरता र समुदाय विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । उनले सहकारीले उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिएर अघि बढेमा स्थायी आर्थिक रूपान्तरण सम्भव हुने बताए । नगर प्रमुख गुरागाईले हातेमालो सहकारीको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै सेयर सदस्यलाई सक्रिय हुन जरूरी रहेको जानकारी दिए ।
साधारणसभाको प्रारम्भमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा २७ प्रिन्ट रगत संकलन भएको संस्थाका उपाध्यक्ष मीनप्रसाद लिम्बूले जानकारी दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष हेमराज सुवेदीले सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत आ. व. २०८१/०८२ काे वार्षिक प्रगति विवरण तथा चालू आ. व. २०८२/ ०८३ काे प्रस्तावित कार्यक्रम एवम् बजेट प्रस्तुत गरेका थिए । उनले हातेमालो सहकारीले आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका खेल्दै आएको बताए । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन लेखा समिति सदस्य देवीबहादुर कार्कीबाट प्रस्तुत भएको थियाे ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति विवरण, नीति, कार्यक्रम र बजेटमाथि विस्तृत छलफल तथा पारित गरिएको थियो। कार्यक्रमकाे अवसरमा ७० बर्ष पूरा भएका ९ जाना जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियाे । साथै उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। साधारण सभाकाे अवसरमा चिठ्ठा विधिबाट छनाेट गरि उपहार वितरण गरिएको थियाे ।
हातेमालो सहकारीले आफ्नो आर्थिक र सामाजिक गतिविधिलाई विस्तार गर्दै हातेमालो लघु उद्योग समेत संचालन गरिरहेको छ। कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य तथा पूर्व अध्यक्ष अर्जुन वस्नेतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष मीनप्रसाद लिम्बूबाट स्वागत भाषण व्यक्त भएको कार्यक्रमकाे सञ्चालन सचिव गुरूप्रसाद अधिकारीबाट भएको थियाे ।





