;

मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा नगरपालिकामा स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुरु भएको छ।

नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले सोमबार आयोजित कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सेवाको शुभारम्भ गरेका हुन्। सेवा सञ्चालनमा आएसँगै जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाटलगायत तोकिएका भूमि प्रशासनसम्बन्धी कामका लागि सेवाग्राहीलाई सहज हुने नगरपालिकाले जनाएको छ। यसबाट स–साना कामका लागि अन्य कार्यालय धाउनुपर्ने बाध्यता कम हुनुका साथै सेवाग्राहीको समय र लागतसमेत बचत हुने अपेक्षा गरिएको छ।

सेवाको शुभारम्भ गर्दै नगरप्रमुख गुरागाईंले नगरवासीलाई स्थानीयस्तरबाटै सहज, सरल, छिटो र प्रभावकारी रूपमा भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको बताए। नागरिकको सम्पत्तिको सुरक्षा गर्दै भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने विषयमा आफू निर्वाचित भएर आएपछि दोस्रो नगरसभाबाटै आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।

नगरप्रमुख गुरागाईंले नगरपालिका स्तरबाट पहिलोपटक सेवा सञ्चालन भएकाले सुरुवाती चरणमा केही ढिलाइ हुन सक्ने भए पनि क्रमशः सेवा छिटोछरितो र प्रभावकारी बनाउँदै लैजाने बताए। उनले आवश्यक कागजातसहित सम्बन्धित शाखामा सम्पर्क गरी सेवा लिन सेवाग्राहीलाई आग्रह गरे।

नगरपालिकाले मालपोत (नवौँ संशोधन) नियमावली, २०८३ बमोजिम स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी तोकिएका कार्य सम्पादन हुने जनाएको छ। सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सेवाग्राहीलाई सहज सेवा दिने नगरपालिकाको लक्ष्य छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका अवसरमा नापीसम्बन्धी प्रक्रिया पूरा गरी प्रिन्ट गरेर तयार पारिएको जग्गाको नाप–नक्सा उपप्रमुख अकली चौधरीले सेवाग्राहीलाई प्रदान गरेकी थिइन्। त्यसैगरी नगरप्रमुख गुरागाईं, उपप्रमुख चौधरी र प्रमुख अतिथि राईले नगरपालिकाबाटै जग्गा खरिद गरेका सेवाग्राही दिपेन्द्र न्यौपानेलाई पहिलो जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका थिए।

कार्यक्रममा नापी कार्यालय मोरङ, विराटनगरका नापी अधिकृत मिथलेस यादव, नापी कार्यालय बेलबारीका प्रमुख सुदर्शनसिंह धामी, भूमि प्रशासन कार्यालय बेलबारीका प्रमुख दीपक कोइराला तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रोशनशंकर घिमिरेलगायतले भूमि प्रशासन तथा व्यवस्थापन सेवा स्थानीय तहबाटै सञ्चालन हुँदा सेवाग्राहीलाई पुग्ने सहजताका विषयमा धारणा राखेका थिए। पहिलो जग्गाधनी प्रमाणपुर्जा वितरणसँगै सुन्दरहरैँचा नगरपालिकाबाट भूमि प्रशासन तथा व्यवस्थापन सेवाको औपचारिक शुभारम्भ भएको हो।

तपाईको प्रतिक्रिया

;