सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभाले राजेन्द्र कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिवमा मोहन पोखरेल, कोषाध्यक्षमा ताराकुमारी सुब्बा र सहसचिवमा यादव कट्वाल चयन भएका छन्। सदस्यहरूमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर खत्री र सबिना चम्लागाईंलगायत रहेका छन्। त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा विनोदकुमार चापागाईं तथा सदस्यमा मीना कार्की र कृष्णप्रसाद साहू चयन भएका छन्।
२०६२ सालमा स्थापना भएको संस्थामा हाल १ हजार ५ सय २३ शेयर सदस्य आबद्ध छन्। सुन्दरहरैँचा र बेलबारीलाई कार्यक्षेत्र बनाएर संस्थाले सदस्यकेन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक गतिविधि, सदस्य सेवा तथा आगामी योजनाबारे छलफल गरिएको थियो। सभाको अवसरमा ज्येष्ठ सदस्य, उत्कृष्ट कर्मचारी, बचतकर्ता तथा ऋणीलाई सम्मान गरिएको थियो। उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मानसमेत प्रदान गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष कार्कीले संस्थालाई पारदर्शी, व्यवस्थित र सदस्यकेन्द्रित बनाउँदै संस्थागत विकास तथा आर्थिक सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम नरेन्द्र बस्नेतकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।





