मणिराम दाहाल नेपालको मोफसल पत्रकारिता, साहित्य तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। उहाँको जन्म वि.सं. २०४२ साल पुस २९ गते मोरङ जिल्लामा भएको हो। उहाँका बुबा जयप्रसाद दाहाल र आमा रुक्मणि दाहाल हुनुहुन्छ। छ जना दाजुभाइ–दिदीबहिनीमध्ये उहाँ कान्छो सन्तान हुनुहुन्छ।
उहाँले सुकुना बहुमुखी क्याम्पस, विराटचोक, मोरङबाट बी.एड. (नेपाली) विषयमा स्नातक तहको अध्ययन गर्नुभएको छ। वि.सं. २०६८ साल असार ३० गते उहाँको विवाह मञ्जु तिम्सिनासँग भएको हो। उहाँहरूका दुई छोरी सफलता दाहाल र शिक्षा दाहाल रहेका छन्।
मणिराम दाहालले वि.सं. २०६४ सालदेखि प्रगति पाक्षिकबाट पत्रकारिता यात्रा प्रारम्भ गर्नुभएको हो। पत्रकारिताप्रतिको लगाव, निष्पक्षता र समाजप्रतिको उत्तरदायित्वका कारण उहाँले विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
वि.सं. २०७० सालदेखि नेपाल पत्रकार महासंघ, मोरङको सदस्यका रूपमा आबद्ध रहँदै पत्रकारिताको संस्थागत विकासमा समेत योगदान पुर्याइरहनु भएको छ। हाल उहाँ नेपाल गौरव अनलाइन मिडियाका प्रधान सम्पादक तथा प्रकाशक हुनुहुन्छ। साथै उहाँ सुन्दरहरैँचा पत्रकार समूहका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। यसका अतिरिक्त बेतना दैनिकमा उपसम्पादक, पूर्वेली न्यूज, उद्घोष दैनिक तथा राष्ट्रिय समाचार समिति (रासस) मा संवाददाताका रूपमा कार्य गर्नुभएको छ। विगतमा उहाँले प्रगति पाक्षिक, जनमत साप्ताहिक, सूचना सञ्चार साप्ताहिक, बीएसी न्यूज, उज्यालो पत्र दैनिक लगायतका सञ्चारमाध्यममा समेत पत्रकारिताको जिम्मेवारी निर्वाह गर्नुभएको थियो। विभिन्न पत्रपत्रिकामा उहाँका लेख, रचना तथा समसामयिक सामग्रीहरू प्रकाशित हुँदै आएका छन्।
पत्रकारितासँगै उहाँ साहित्य र गीत गजल लेखनमा पनि सक्रिय हुनुहुन्छ। गीत, गजल तथा आध्यात्मिक सन्देशमूलक रचनाहरू सिर्जना गर्नु उहाँको विशेष रुचि हो। उहाँद्वारा रचित “उठ उठ दाजु दिदी अब प्रभात भयो” बोलको गीत रेकर्ड भइसकेको छ। विभिन्न व्यक्तित्वहरूसँग लिखित तथा भिडियो अन्तर्वार्ता लिनु, समाचारमूलक भिडियो सामग्री तयार गरी प्रसारण गर्नु तथा साहित्यिक सिर्जनामा निरन्तर सक्रिय रहनु उहाँको विशेषता हो।
समाजमा सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्दै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ उहाँले पत्रकारितालाई सामाजिक सेवाको माध्यमका रूपमा लिनुभएको छ। पत्रकारितामार्फत विकृति, विसङ्गति र अन्यायविरुद्ध आवाज उठाउँदै समाज रूपान्तरणमा योगदान पुर्याउनु उहाँको मूल लक्ष्य रहेको छ। पत्रकार आचारसंहिताको पालना गर्दै व्यावसायिक, मर्यादित र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न तथा नयाँ पुस्तालाई पत्रकारितामा प्रेरित गर्न उहाँ निरन्तर लागिरहनुभएको छ।
उहाँको योगदानको कदरस्वरूप विभिन्न संघ–संस्थाबाट सम्मान तथा पुरस्कार प्राप्त भएका छन्। जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यबाट कुम्भ मेलाको प्रचारप्रसारमा योगदान गरेबापत सम्मान, सिद्धान्त सेकेन्डरी स्कुलको रजत महोत्सवमा सम्मान, ज्ञानज्योति सेकेन्डरी बोर्डिङ स्कुल, पूर्वाञ्चल पब्लिक स्कुल, सुन्दरहरैँचा नगर प्याब्सन, सुविजीमुर माध्यमिक विद्यालय लगायतका संस्थाबाट सम्मान प्राप्त गर्नुभएको छ। साथै अमेरिकास्थित एन एन्ड जे इन्टरटेनमेन्ट एनवाई इन्कबाट पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा नगदसहित विशेष सम्मानबाट सम्मानित हुनुभएको छ।
सुन्दरहरैँचा नगरपालिकाभित्रका सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिलाई सञ्चारमाध्यममार्फत व्यापक रूपमा प्रचारप्रसार गर्नु, विभिन्न व्यक्तित्वहरूको परिचय उजागर गर्नु, विद्यालयका गतिविधिहरूलाई जनसमक्ष पुर्याउनु तथा सुन्दरहरैँचा पत्रकार समूह स्थापना गरी स्थानीय पत्रकारितालाई संगठित बनाउनु उहाँका उल्लेखनीय योगदानहरू हुन्।
जीवनप्रतिको उहाँको दृष्टिकोण अत्यन्त सकारात्मक छ। उहाँका अनुसार “जीवन सुख र दुःखको संगम हो। दुःखमा धैर्य र सुखमा निरन्तर संघर्ष गर्न सक्ने व्यक्ति नै अन्ततः सफल हुन्छ।” सहयोग, एकता र सामाजिक उत्तरदायित्वमार्फत समाजलाई समृद्ध बनाउन सकिने उहाँको विश्वास छ।
भविष्यमा उहाँ व्यावसायिक पत्रकारितालाई अझ सशक्त बनाउँदै समाजमा सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने, गीत–सङ्गीत तथा साहित्यमा निरन्तर सक्रिय रहने, आफ्नो मिडिया हाउसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा विभिन्न सामाजिक कार्यमार्फत समाजसेवामा निरन्तर योगदान पुर्याउने लक्ष्यका साथ अघि बढिरहनुभएको छ।
सम्पर्क
नाम : मणिराम दाहाल
माे ९८४२२४०१६६
ठेगाना : सुन्दरहरैँचा–७, मोरङ
इमेल : maniramdahal166@gmail.com





