सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–५, फिमरास्थित पूर्वाञ्चल पब्लिक सेकेन्डरी स्कुलमा अन्तरहाउस हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ।
विद्यार्थीमा रहेको ज्ञान, तर्कशक्ति र प्रस्तुतिकरण क्षमताको परीक्षणसँगै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा विद्यालयका विभिन्न कलर हाउसका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रश्नोत्तरका क्रममा सामान्य ज्ञानसँगै विज्ञान, गणित, इतिहास, भूगोल तथा समसामयिक विषयलाई समेटिएको थियो। सहभागी विद्यार्थीहरूले उत्साहका साथ प्रश्नहरूको उत्तर दिँदै आफ्नो बौद्धिक क्षमता प्रदर्शन गरेका थिए।
प्रतियोगिताको अवसरमा विद्यालयका संस्थापक तथा प्रधानाध्यापक सन्तोष राईले कक्षाकोठामा हुने नियमित पढाइसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँका अनुसार हाजिरीजवाफजस्ता कार्यक्रमले विद्यार्थीलाई छिटो सोच्न, सही निर्णय लिन र आत्मविश्वासका साथ आफ्नो विचार प्रस्तुत गर्न प्रेरित गर्छ।
उहाँले विद्यार्थीको रुचि र क्षमताअनुसार विभिन्न गतिविधि सञ्चालन गर्दै उनीहरूको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने विद्यालयको नीति रहेको बताउनुभयो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने हाउस तथा विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको ज्ञान र सीप विकासलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





