;

सुन्दरहरैँचा / निवृत्त राष्ट्रसेवक समाज, नेपाल सुन्दरहरैँचा नगर कार्यसमितिको छैटौँ नगर अधिवेशन तथा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिकीकरण कार्यक्रम बुधबार सुन्दरहरैँचा वडा -९ सलकपुरमा सम्पन्न भएको छ।

‘सबै निवृत्त राष्ट्रसेवक एक हौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, न्यायसेवा तथा विभिन्न संघसंस्थाबाट सेवानिवृत्त राष्ट्रसेवकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष उमाकान्त चौलागाईंले नगर कार्यसमितिले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्दै निवृत्त राष्ट्रसेवकहरूको ज्ञान, सीप र अनुभवलाई समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष चौलागाईंले लामो समय राष्ट्रसेवामा योगदान दिएका व्यक्तिहरू सेवानिवृत्त भएपछि पनि समाजप्रतिको जिम्मेवारीबाट अलग नहुने बताउँदै उनीहरूको अनुभव नयाँ पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे।

उनले भने, “हामीले जीवनको महत्वपूर्ण समय राष्ट्रसेवामा बिताएका छौँ। सेवानिवृत्त भएपछि पनि समाज र राष्ट्रका लागि केही योगदान गर्न सकिन्छ भन्ने उद्देश्यले संस्थालाई सक्रिय बनाउँदै आएका छौँ।”

कार्यक्रममा ‘सेवानिवृत्तहरूको संगालो’ पुस्तक सार्वजनिक गरिएको थियो। पुस्तकमा सुन्दरहरैँचा क्षेत्रका विभिन्न सेवाबाट निवृत्त भएका व्यक्तिहरूका अनुभव, योगदान, परिचय तथा संस्मरणलाई समेटिएको जनाइएको छ।

अधिवेशनका क्रममा संस्थाको आगामी कार्ययोजना, संगठन सुदृढीकरण तथा निवृत्त राष्ट्रसेवकहरूबीच आपसी समन्वय र सहकार्यका विषयमा समेत छलफल गरिएको थियो।

निवृत्त राष्ट्रसेवक समाज, नेपालले प्राध्यापक, शिक्षक, निजामती, सेना, प्रहरी, न्यायसेवा लगायत विभिन्न क्षेत्रमा सेवा गरेका निवृत्त राष्ट्रसेवकलाई एउटै छातामुनि संगठित गर्दै उनीहरूको अनुभव र योगदानलाई सामाजिक हितमा परिचालन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रसेवामा लामो समय योगदान गरेका निवृत्त राष्ट्रसेवकहरूको ज्ञान र अनुभवलाई स्थानीय विकास, सामाजिक रूपान्तरण तथा नयाँ पुस्ताको मार्गदर्शनमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया

;