नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुमा असार १५ गते दही–चिउरा र साउन १५ गते खिर खाने प्रचलन प्राचीनकालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ।
साउने झरी पर्ने बेला तातो खिर स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले खिर खाने चलन बसेको विश्वास गरिन्छ। दूधमा चामल, चिनी, गरम मसला तथा अन्य सामग्री मिसाएर बनाइने खिरले शरीरलाई ऊर्जा र पोषण दिने जनविश्वास छ।
संस्कृत भाषामा ‘पायस’ भनिने खिर
सात्त्विक आहारमध्ये उत्कृष्ट मानिन्छ।
पितृकार्य तथा देवकार्यमा यसको विशेष महत्त्व रहेको वैदिक शास्त्रमा उल्लेख छ। साउन महिनासम्म गाउँघरमा अधिकांश खेतीपातीको काम सकिने, हरियाली बढ्ने र गाईभैँसीले प्रशस्त दूध दिने भएकाले इष्टमित्र र छोरीचेलीलाई घरमा बोलाएर खिर खुवाउने परम्परा विकास भएको मानिन्छ।
साउन भगवान् शिवको महिना मानिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय हुने धार्मिक विश्वासका कारण खिरलगायत मिठाइ विधिपूर्वक चढाउने चलन छ। यसै आधारमा साउनको मध्यतिर खिर खाने परम्परा बसेको हुन सक्ने जानकारहरूको भनाइ छ।





