;

सुन्दरहरैँचा / आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकमा भव्य कार्यक्रम सम्पन्न भएको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्मसको संयुक्त आयोजनामा झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको हो। विराटचोकस्थित इन्द्रपुर जेसीजको सभाहलमा आयोजित कार्यक्रममा कलाकार, स्थानीय जनप्रतिनिधि तथा चलचित्र प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता सरोज खनाल ले ‘हली’ नेपाली गाउँघरको परिवेशमा आधारित मौलिक चलचित्र भएको उल्लेख गर्दै दर्शकको माया पाएर फिल्म १०० दिनसम्म प्रदर्शन हुने विश्वास व्यक्त गरे ।

निर्माता जस्मिन श्रेष्ठले चलचित्रले महिलामाथि हुने विभेद, विशेषगरी रजस्वला हुँदा महिलालाई छाउगोठमा राख्ने जस्ता सामाजिक कुरीतिलाई सशक्त रूपमा उठाएको बताउँदै समाज परिवर्तनको सन्देश दिने प्रयास गरिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले कलाकार राष्ट्रको गहना भएकाले उनीहरूको सम्मान र संरक्षण सबैको दायित्व भएको बताए ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हली’ मा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतिक स्वयंको अभिनय रहेको छ। फिल्मका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ हुन्।

ग्रामीण जीवन, महिला अधिकार र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउनेछ।

तपाईको प्रतिक्रिया

;