सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत, एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलाल, प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईं, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि गुरागाईंले सुन्दरहरैँचालाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
विद्यालयका संस्थापक प्रिन्सिपल ढकालले प्रविधिमैत्री, अनुशासित र सिकाइमैत्री वातावरणमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको प्राथमिकता रहेको बताए। विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिजका कार्यक्रम सञ्चालन गर्दै विद्यालयले आधुनिक शिक्षासँगै नैतिक मूल्य र संस्कारलाई पनि समान महत्व दिएको उनले उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलालले विद्यार्थीको रुचि र क्षमता पहिचान गरी अघि बढ्नुपर्नेमा जोड दिँदै अनुशासन, मेहनत र असल चरित्र नै सफलताको आधार भएको बताए।
औपचारिक कार्यक्रमसँगै विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। स्वागत, सम्मान र बिदाइलाई समेटिएको कार्यक्रमले नयाँ शैक्षिक सत्रको उत्साहपूर्ण सुरुआत गरेको विद्यालयले जनाएको छ। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय, प्रविधिमैत्री तथा मूल्यमा आधारित शिक्षालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





