;

उर्लाबारी/ उर्लाबारी नगरपालिकाको १६औँ नगरसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरिएको छ।

नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेलले नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको जानकारी दिइन्। उपप्रमुख पौडेलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन २०७८, संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम, नगरपालिकाको आवधिक योजना, मध्यमकालीन खर्च संरचना, जनअपेक्षा तथा आवश्यकतालगायतका आधारमा बजेट निर्माण गरिएको बताइन्।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक सुरक्षा, सेवा प्रवाह सुधार, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण प्रस्तुत गर्दै उपप्रमुख पौडेलले थप सशर्त अनुदानसहित कुल १ अर्ब २० करोड २२ लाख ६४ हजार ५ सय रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिइन्। उक्त बजेटमध्ये ८७.९५ प्रतिशत आय संकलन हुने अनुमान गरिएको छ। हालसम्म ७४ करोड ९१ लाख ९५ हजार ७६४ रुपैयाँ खर्च भइसकेको तथा कुल बजेटको ६६.९५ प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले बताइन्। चालु वर्षको अन्त्यसम्म पूँजीगत बजेटतर्फ ७५.४८ प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ।

“स्वच्छ, समृद्ध तथा समतामूलक उर्लाबारी” को दीर्घकालीन सोचलाई साकार पार्ने लक्ष्यसहित आगामी बजेटका उद्देश्य निर्धारण गरिएको उपप्रमुख पौडेलले बताइन्। नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रममाथि छलफल प्रक्रिया अघि बढेको नगर प्रमुख गंगाप्रसाद खरेलले जानकारी दिएका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षमा नागरिकमैत्री सेवा, दिगो पूर्वाधार निर्माण, उत्पादनमुखी कृषि, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी विकासमार्फत समृद्ध उर्लाबारी निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

;