;

सुन्दरहरैंचा / राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्व देबराज तामाङले मोरङको सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालालाई ट्रस (फलामे संरचना) सहयोग प्रदान गरेका छन्।

गौशालामा बसोबास गर्ने ब्राह्मण तथा धार्मिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सुरक्षित आश्रय निर्माण गर्ने उद्देश्यले उक्त सहयोग गरिएको हो। कार्यक्रममा तामाङले गौशालालाई आवश्यक ट्रस हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, धार्मिक अगुवा, गौशालाका प्रतिनिधि तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।

गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले तामाङको सहयोगप्रति आभार व्यक्त गर्दै धार्मिक तथा सामाजिक संस्थाहरूलाई यस्ता सहयोगी व्यक्तित्वहरूले ठूलो हौसला प्रदान गर्ने बताए। उनका अनुसार गौशालामा दैनिक रूपमा गौसेवा, पूजाआजा तथा विभिन्न धार्मिक गतिविधि सञ्चालन हुँदै आए पनि भौतिक संरचनाको अभाव चुनौतीका रूपमा रहेको थियो। सहयोग हस्तान्तरणपछि तामाङले गौसेवा, धर्म संरक्षण र मानवीय कार्य सबैको साझा दायित्व भएको बताए। “गाई हाम्रो संस्कृति र आस्थासँग जोडिएको विषय हो। यस्ता संस्थालाई सहयोग गर्नु मेरो कर्तव्य हो,” उनले भने।

स्थानीयवासीहरूले पनि तामाङको सहयोगलाई प्रशंसनीय कार्यको रूपमा लिँदै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्। गौशालालाई गरिएको यो सहयोगले केवल भौतिक संरचना निर्माणमा मात्र होइन, सहयोग, सद्भाव र मानवताको भावना अझ बलियो बनाउन योगदान पुर्‍याएको विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

;