;

सुन्दरहरैँचा / बेलबारीमा दलित अधिकार, सामाजिक सशक्तीकरण तथा स्थानीय विकासमा उल्लेखनीय योगदान पुयाउने दुई जना व्यक्तित्वलाई सम्मान गरिएको छ।

बेलबारी नगरपालिकाको आर्थिक सहयोग तथा बेतना राष्ट्रिय दैनिकको आयोजनामा जेठ २१ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको १० दिने उद्घोषण तथा क्षमता विकास तालिमको समापन समारोहका अवसरमा सम्मान गरिएको हो। कार्यक्रममा दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष खगेन्द्र तोलाङ्गीलाई दलित समुदायको हक, अधिकार, सामाजिक न्याय तथा क्षमता अभिवृद्धिका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, बेलबारी नगरपालिका वडा नं. ४ की सदस्य तथा नगर कार्यपालिका सदस्य कुमारी गुरुङलाई स्थानीय विकास, सुशासन र जनसेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।

समापन समारोहमा प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले कुनै पनि सीप तथा तालिमलाई व्यवहारमा उतार्न सके मात्र त्यसको वास्तविक उपलब्धि प्राप्त हुने बताइन्। उनले सिकाइलाई व्यक्तिगत विकाससँगै समाज र समुदायको हितमा उपयोग गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष चन्द्रबहादुर लिम्बु, सदस्य भिमकुमारी गुरुङ, दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष खगेन्द्र तोलाङ्गी लगायतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहभागीहरूलाई सुझाव दिएका थिए।
बेतना राष्ट्रिय दैनिकका प्रधान सम्पादक नरेन्द्र बस्नेतले सञ्चार, नेतृत्व तथा व्यक्तित्व विकासका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउँदै सहभागीहरूलाई सिकेको सीप व्यवहारमा प्रयोग गर्न आग्रह गरेका थिए। तालिममा बस्नेतले नै सहजीकरण गरेका थिए।

प्रशिक्षार्थी स्मृति शिवाले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूले पनि आफ्नो सिकाइ अनुभव साझा गरेका थिए। बेलबारी–४ स्थित दलित संग्रहालयमा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न क्षेत्रका सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

;