सुन्दरहरैँचा / सुन्दरहरैँचा उद्योग वाणिज्य संघले युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ ‘युवाबाट उद्यमी बन्ने यात्रा’ अभियान अन्तर्गत १५ दिने युवा उद्यमशीलता विकास तालिम कार्यक्रम सुरु गरेको छ।

उद्योग वाणिज्य संघको आफ्नो भवनमा सोमबारबाट सुरु भएको उक्त तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका करिब ५० जना युवा–युवतीको सहभागिता रहेको छ।

कार्यक्रमका बारेमा जानकारी दिदै सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले पछिल्लो समय धेरै युवाहरू बेरोजगार भएर कामको खोजीमा भौंतारिन बाध्य भएको बताउनुभयो। उद्योग, व्यापार तथा व्यवसाय सञ्चालन गर्ने इच्छा हुँदाहुँदै आवश्यक ज्ञान, सीप र अनुभवको अभावका कारण धेरैले व्यवसाय सुरु गर्न नसकेको उल्लेख गर्दै उहाँले युवालाई आत्मनिर्भर र उद्यमी बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो।

“नगरभित्र नयाँ उद्यमी उत्पादन गर्ने, युवामा आत्मविश्वास बढाउने र व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो,” अध्यक्ष कार्कीले भन्नुभयो।

संघका अनुसार तालिममा उद्यमशीलता विकास, व्यवसाय योजना निर्माण, लेखा तथा कर प्रणाली, डिजिटल मार्केटिङ र कृत्रिम बौद्धिकता (एआई), उद्योग अवलोकन भ्रमण, सफल उद्यमीका अनुभव आदानप्रदान, स्टार्टअप आइडिया एक्सचेञ्ज, पर्यटन प्रवर्द्धन तथा शेयर बजार सम्बन्धी लगानी शिक्षालगायतका विषयमा प्रशिक्षण दिइने आयाेजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया