सुन्दरहरैँचा / पिएलओ (PLO) ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा सुन्दरहरैँचा नगरपालिका–९ स्थित फुटबल मैदानमा सामुदायिक सरसफाइ तथा खेल मैदान सुधार कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक उत्तरदायित्व तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजित कार्यक्रममा फुटबल मैदान र आसपासका क्षेत्रको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाइएको थियो। साथै, मैदान परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति हटाइ खेलाडीहरूका लागि थप सुरक्षित र सहज खेल वातावरण निर्माण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा खेलाडीहरूको सुविधा तथा विश्रामलाई ध्यानमा राख्दै मैदानमा सानो ट्रस (छायाँ संरचना) निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ। उक्त संरचनाले खेलाडी तथा खेलप्रेमीहरूलाई घाम र वर्षाबाट संरक्षण प्रदान गर्नुका साथै खेल गतिविधिलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा पिएलओ ग्रुप र लायन्स क्लब अफ इन्द्रपुरका पदाधिकारी तथा सदस्यहरू, स्थानीय युवा खेलाडीहरू र समुदायका विभिन्न व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थलहरूको संरक्षण, सरसफाइ र सामुदायिक स्वामित्वको महत्वबारे आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।आयोजकहरूले यस्ता सामाजिक तथा सामुदायिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘हामी सबैको सहकार्य, उत्कृष्ट समाजको आधार’ भन्ने मूल नारासहित सम्पन्न उक्त कार्यक्रमले निजी क्षेत्र, सामाजिक संस्था र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ।





