मणिराम दाहाल / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित सुकुना बहुमुखी क्याम्पसमा आयोजित दुईदिने ‘शैक्षिक संस्था र उद्योगबीचको सहकार्य: सुदृढ तथा लचिलो जनशक्ति विकास’ विषयक शैक्षिक–उद्योग संवाद कार्यक्रम सम्पन्न भएको छ।
विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको सहयोग तथा सुकुना बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता प्रवर्द्धन तथा बजारको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादनका विषयमा केन्द्रित रहेर छलफल गरेको थियो। कार्यक्रमको उद्घाटन केदारप्रसाद गुरागाईंले गरेका थिए। उद्घाटन समारोहमा उनले स्थानीय सरकार, शैक्षिक संस्था र उद्योग क्षेत्रबीचको समन्वयले दिगो विकास तथा दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रममा शिक्षा, उद्योग, बैंकिङ, उद्यमशीलता तथा विभिन्न सरोकारवाला क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो। सहजीकरणका क्रममा डा. अन्जयकुमार मिश्र, प्रा. डा. बिजु थपलिया, नरोत्तम अर्याल तथा बद्रिकुमार गुरागाईं लगायतले शिक्षा र उद्योग क्षेत्रबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उपायबारे आफ्ना धारणा राखेका थिए। क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले वर्तमान समयमा शैक्षिक संस्थाहरूले उद्योग क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यार्थीलाई व्यवहारिक, रोजगारमुखी तथा उद्यमशील शिक्षासँग जोड्न आवश्यक रहेको बताए। उनका अनुसार शिक्षा र उद्योगबीचको सहकार्यले विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप तथा रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्न मद्दत पुग्नेछ।
कार्यक्रमको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गरेका थिए। उनले यस्ता संवाद कार्यक्रमले शिक्षा क्षेत्रलाई समयसापेक्ष बनाउन तथा उद्योगको आवश्यकता अनुरूप जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दुईदिने कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय उद्योगी–व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, छिमेकी क्याम्पसका प्राध्यापक तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले शैक्षिक संस्था र उद्योगबीचको दूरी घटाई विद्यार्थीको भविष्य निर्माण तथा राष्ट्रिय विकासमा सकारात्मक योगदान पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए।
वि.सं. २०४८ सालमा स्थापित सुकुना बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान तथा समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ। क्याम्पसले आगामी दिनमा पनि शिक्षा र उद्योग क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।





