मणिराम दाहाल / सुन्दरहरैँचा
सुनसरीको पिण्डेश्वर विद्यापीठस्थित कालिदास भवनमा कवि तथा साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ शीर्षकको महाकाव्य एक भव्य समारोहबीच लोकार्पण गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले महाकाव्यले नेपालको इतिहास, अध्यात्म, राष्ट्रभावना तथा सांस्कृतिक चेतनालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडा, साहित्यकार मेदिनीप्रसाद बराल, अमृतप्रसाद आचार्य, प्रेमप्रसाद भट्टराई, वासुदेव भण्डारी, लक्ष्मी खरेल तथा लोकगायिका अम्बिका दबाडीको विशिष्ट आतिथ्य रहेको थियो। प्रमुख अतिथि भट्टराईले महाकाव्यको औपचारिक लोकार्पण गरेका थिए।
२२ सर्ग, ५३७९ श्लोक र ८८६ पृष्ठमा विस्तारित यस बृहत् महाकाव्यबारे उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपाने तथा उपप्राध्यापक डा. दिवाकर रेग्मीले समीक्षा प्रस्तुत गरेका थिए। समीक्षकहरूले अध्यात्म दर्शन, भक्ति चेतना तथा राष्ट्रभक्तिको बेजोड संयोजन रहेको यो कृति ऐतिहासिक चेतना र परिष्कृत शास्त्रीय कवित्वका दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको बताएका थिए। नेपालको समग्र राजनीतिक इतिहासलाई महाभारतीय विकसनशील शैलीमा प्रस्तुत गरिएको यस कृतिलाई उनीहरूले कलात्मक महाकाव्यका रूपमा व्याख्या गरेका थिए।
समारोहमा बोल्ने वक्ताहरूले ‘नेपालदर्पण’ दर्शन, समाजविकास र बहुआयामिक नेपाली ऐतिहासिकताको कलात्मक प्रतिबिम्ब भएको उल्लेख गर्दै विचार, भाव र कलाको विशिष्ट संयोजनका कारण यो कृति नेपाली साहित्यमा विशिष्ट उपलब्धिका रूपमा स्थापित हुने धारणा व्यक्त गरेका थिए। २२ सर्ग, ५३७९ श्लोक र ८८६ पृष्ठमा विस्तारित यस आयामको कलात्मक महाकाव्य नेपाली साहित्यमा दुर्लभ रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा प्रा. डा. भीम खतिवडा, प्रा. डा. रमेश घिमिरे, उत्प्रेरक व्यक्तित्व लक्ष्मी खरेल तथा साहित्यकार गणेश खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। समारोहमा प्रा. डा. भरत भट्टराई, प्रा. डा. वंशीधर कट्टेल, प्राध्यापक तोयराज कोइराला, प्रा. डा. खेम खनाल, प्रा. डा. सागरमणि सुवेदी, सहप्राध्यापक डा. महानन्द तिमिल्सिना, सहप्राध्यापक भवानीशङ्कर भट्टराई लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ‘नेपालदर्पण’ का रचनाकार महाकवि दाहाललाई विद्यापीठका तर्फबाट सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै पुस्तक लेखन, मुद्रण तथा प्रकाशनमा प्रेरणा एवं सहयोग पुर्याउने विभिन्न महानुभावलाई “उत्प्रेरक सम्मान” प्रदान गरिएको थियो। उपप्राध्यापक दीपक पराजुलीद्वारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन सहप्राध्यापक डा. गुरुप्रसाद कोइरालाले गरेका थिए । कार्यक्रम पिण्डेश्वर विद्यापीठका प्राचार्य सहप्राध्यापक काशीनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।





