;

मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरेको छ।

विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी १२१ जना विद्यार्थीलाई शतप्रतिशत उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। तीमध्ये ६ जना विद्यार्थीले उत्कृष्ट जिपिए ४.० प्राप्त गरेका छन्। जिपिए ४ ल्याउने प्रत्येक विद्यार्थीलाई विद्यालयले जनही रु. १ लाख बराबरको चेक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो।
विद्यालयका अनुसार अन्य सबै विद्यार्थीले पनि जिपिए ३ भन्दा माथिको नतिजा हासिल गरेका छन्। उनीहरूलाई समेत कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थी, अभिभावक र शिक्षकको संयुक्त प्रयासका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए। उनले भने, “दुःख गरेर अध्ययन गर्ने विद्यार्थी र उनीहरूलाई निरन्तर साथ दिने अभिभावकको योगदानकै कारण विद्यालयले गौरवपूर्ण उपलब्धि हासिल गरेको हो। असल शिक्षाले व्यक्तिको जीवन परिवर्तन गर्छ, सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दछु।”

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले विद्यालयको उत्कृष्ट शैक्षिक उपलब्धिको प्रशंसा गर्दै जिपिए ४ ल्याउने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिस्वरूप जनही रु. ५० हजार प्रदान गर्ने घोषणा गरे। उनले विद्यालयले नगरको शैक्षिक प्रतिष्ठा उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा विद्यालयका शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । विद्यार्थीहरूले नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रमको सञ्चालन जे.भी. थुलुङले गरेका थिए। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

;