सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ।
मोरङको सुन्दरहरैँचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत अध्ययन पूरा गरेका ६ हजार ७ सय ६ विद्यार्थी दिक्षित भएका छन्। जसमध्ये २ हजार ५४ जनाले समारोहमा उपस्थित भएर प्रमाणपत्र ग्रहण गरेका थिए । विश्वविद्यालयका अनुसार स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तर तहबाट १ हजार ४ सय १३ तथा एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका छन्। संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै २ हजार २ सय ६४ विद्यार्थी दीक्षित भएका छन् ।इन्जिनियरिङतर्फ १ हजार २ सय ६२, विज्ञान तथा प्रविधितर्फ ७ सय ४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानतर्फ ६ सय २४ र कानुन संकायतर्फ ६ सय २२ जना विद्यार्थीले दीक्षान्त प्राप्त गरेका हुन् । त्यस्तै, शिक्षा संकायबाट ९ सय ९८ र मानविकी संकायबाट १ सय ८४ विद्यार्थी दीक्षित भएका छन्।
समारोहलाई सम्बोधन गर्दै सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलले विश्व परिवेशमा तीव्र रूपमा भइरहेको परिवर्तनसँगै शिक्षा प्रणालीलाई प्रविधिमैत्री, व्यवहारिक र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए । उनले दीक्षित विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीपलाई राष्ट्र निर्माणमा प्रयोग गर्न आग्रह गर्दै उच्च शिक्षालाई गुणस्तरीय र रोजगारमुखी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
समारोहमा प्रमुख अतिथिका रूपमा भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चका निर्देशक प्रा. डा. विवेक लाल सहभागी भएका थिए।
कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरूले स्थापना भएको ३२ वर्षको अवधिमा विश्वविद्यालयले हासिल गरेको शैक्षिक उपलब्धि, योगदान तथा आगामी लक्ष्यबारे चर्चा गरेका थिए। प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै स्थापना भएको विश्वविद्यालयले हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, मानविकी, कानुन तथा चिकित्सा शिक्षा लगायतका क्षेत्रमा अध्यापन सञ्चालन गर्दै आएको छ।
विश्वविद्यालय हाल उपकुलपति बिजुकुमार थपलिया तथा रजिस्ट्रार कल्याणी मिश्र त्रिपाठीको नेतृत्वमा अघि बढिरहेको छ। विश्वविद्यालयले करिब १५० भन्दा बढी आंगिक तथा सम्बन्धन प्राप्त कलेज मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ। साथै एम.फिल तथा विद्यावारिधि (पीएचडी) जस्ता अनुसन्धानमुखी कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
समारोहका वक्ताहरूले बदलिँदो विश्व परिवेशअनुसार शिक्षा प्रणालीलाई प्रविधिमैत्री, व्यवहारिक तथा अनुसन्धानमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।





