मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा–१२ स्थित सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा कुशल अभिभावकत्व सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।

एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सी प्रा.लि.को सहयोगमा आयोजित उक्त कार्यशालामा अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आईएसओ प्रशिक्षक शैलेन्द्र खरेलले अभिभावकलाई प्रभावकारी अभिभावकत्व, बालबालिकाको समग्र विकास तथा बदलिँदो सूचना प्रविधिमैत्री परिवेशले सिर्जना गरेका चुनौतीबारे प्रशिक्षण दिएका थिए। उनले बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालय, अभिभावक र विद्यार्थीबीच सुदृढ त्रिकोणात्मक सम्बन्ध आवश्यक रहेको उल्लेख गरे।

कार्यशालामा विद्यार्थीको गुणस्तरीय शिक्षालाई लक्ष्यित गर्दै सुरक्षा, स्वास्थ्य, संस्कार, शिक्षा, सृजनशीलता तथा सकारात्मक व्यवहार विकासका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियाे । साथै गुणस्तरीय शिक्षाका लागि दक्ष र प्रभावकारी व्यवस्थापन, अन्तर्राष्ट्रिय मापदण्डको अभ्यास तथा अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर व्यवस्थापन प्रणालीबारे समेत जानकारी गराइएको थियो।

आईएसओ 21001 EOMS प्रमाणित विद्यालयका रूपमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयले विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा विद्यालयका प्रिन्सिपल गोविन्द कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै अभिभावकको सक्रिय सहकार्यबिना गुणस्तरीय शिक्षा सम्भव नहुने लगायत बारे बताए।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन नगर अध्यक्ष दीपक क्षेत्री रहेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव अधिकारीले कार्यक्रमको सभापतित्व गरेका थिए। कार्यक्रम दीपक गौतमले सञ्चालन गरेका थिए। कार्यक्रमका अवसरमा अभिभावकबीच भाग्यशाली चिठ्ठा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। साथै विद्यार्थीहरूले संदेशमूलक नाटक प्रस्तुत गरी अभिभावकत्व र शिक्षाको महत्वबारे चेतना फैलाएका थिए।

कार्यक्रममा अभिभावकहरूसँग अन्तरक्रिया, पृष्ठपोषण संकलन, अडियो–भिडियो प्रस्तुति तथा मनोवैज्ञानिक सहजीकरणमार्फत सचेतना अभिवृद्धि गरिएको थियो। कार्यशालापछि अभिभावक समन्वय समिति समेत गठन गरिएको थियाे। कार्यक्रममा ISO अभियन्ता ओमप्रकाश प्रसाईं, बाल सदन एकेडेमीका प्रिन्सिपल निरज ढकाल, नरसिङ्ग मेमोरियल इंग्लिस स्कुलका प्रिन्सिपल केशव सापकोटा , सफल सिद्धार्थका प्रिन्सिपल राजन लम्साल ओरिजिङ इंग्लिस स्कुलका प्रिन्सिपल रामचन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया