मणिराम दाहाल / सुन्दरहरैंचा

माेरङकाे सुन्दरहरैंचा–८ मा अवस्थित क्वेष्ट इङ्लिस स्कुलले आफ्नो १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिका–८ का वडा अध्यक्ष खेम प्रसाद न्यौपानेले गरेका थिए। उद्घाटन मन्तव्य राख्दै उनले विद्यालयले गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै समाजप्रति जिम्मेवार नागरिक बन्न प्रेरणा मिल्ने बताए।

विद्यालय व्यवस्थापन समिति सदस्य केशव अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, पूर्वविद्यार्थी, शिक्षक–कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले विद्यालयको शैक्षिक अवस्था, उपलब्धि तथा भावी योजनाबारे जानकारी दिँदै प्रोजेक्ट–आधारित तथा प्रविधिमैत्री शिक्षण पद्धतिमा विशेष जोड दिइएको बताए।
कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूका विविध सांस्कृतिक प्रस्तुति थिए। नृत्य, गायन, कविता वाचन, कथा वाचन तथा नाटकले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। साना कक्षादेखि माथिल्ला कक्षासम्मका विद्यार्थीहरूले देखाएको आत्मविश्वास, सिर्जनशीलता र प्रतिभा प्रशंसनीय रहेको थियो। शिक्षकहरूको नृत्य प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण बनेको थियो।

उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद, मेडल, ट्रफी तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो। साथै ‘स्टुडेन्ट अफ द इयर’ घोषणा गर्दै विशेष सम्मान प्रदान गरिएको थियो भने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति पनि वितरण गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सदस्य बाबुराम निरौलालाई सञ्चार क्षेत्रमार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।सम्मान ग्रहण गर्दै निरौलाले शिक्षा र सञ्चार क्षेत्रबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए। त्यसैगरी, ज्येष्ठ नागरिक पवित्रादेवी ढकाललाई पनि समाजप्रतिको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षक सम्मान तथा अभिभावक चिठ्ठा कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले विद्यालय, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाएको छ।

उत्सवलाई थप आकर्षक बनाउन गायक टीका मगरको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै विद्यार्थीहरूबीच ‘सिङ्गिङ आइडल’ र ‘डान्सिङ आइडल’ प्रतियोगिता आयोजना गरिएको थियो, जसमा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रस्तुत विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूले दर्शकको मन जितेका थिए। अन्त्यमा प्रिन्सिपल क्षेत्रीले यस्ता कार्यक्रमले विद्यार्थीको बहुआयामिक विकासका साथै विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया