सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा १० स्थित द राइजिङ इङ्गलिस बाेर्डिङ स्कुलकाे ३४ अाैँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुबेदीले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद सुबेदीले गुणस्तरीय शिक्षा आजको समाज निर्माणको आधार भएको उल्लेख गरे । उनले विद्यालयहरूले आधुनिक प्रविधिसँग जोडिएको शिक्षण पद्धति अपनाउँदै विद्यार्थीलाई समय अनुकूल ज्ञान र सीप प्रदान गर्नुपर्ने बताए। “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक ज्ञान र सिर्जनशीलतासँग जोडिनुपर्छ,” उनले भने।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल गोपाल पाठकले विद्यालयले पछिल्ला वर्षहरूमा शिक्षण पद्धतिमा उल्लेखनीय सुधार गर्दै आएको जानकारी दिए। उनले प्रोजेक्ट वर्कमा आधारित शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै विद्यालयलाई क्रमशः प्रविधिमैत्री शिक्षण प्रणालीतर्फ अग्रसर बनाइएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले विद्यालयले छोटो समयमै शिक्षा क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको उल्लेख गरे। शिक्षक, अभिभावक र स्थानीय समुदायको सहकार्यकै कारण विद्यालय निरन्तर प्रगतिपथमा अघि बढिरहेको उनको भनाइ थियो।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।साथै समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक, कविता वाचन तथा अन्य सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकलाई आकर्षित गरेका थिए।
साना बालबालिकादेखि उच्च कक्षासम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दा अभिभावकहरू उत्साहित देखिन्थे। विद्यालयले वर्षभरि सञ्चालन गरेका विभिन्न शैक्षिक, खेलकुद तथा सिर्जनात्मक गतिविधिहरूको झलक पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।





