सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रमले विद्यालय परिसरलाई नै उत्सवमय बनाएको थियो। कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालयका अध्यक्ष ओमबहादुर राईको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईले शिक्षा समाज परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै पूर्वाञ्चल पब्लिक स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गरे। उनले आधुनिक प्रविधिसँग जोडिएको शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यालयले डिजिटल प्रविधि अपनाएर उदाहरणीय काम गरेको धारणा राखे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोषकुमार राईले विद्यालयको शैक्षिक प्रगति, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराए। उनले विद्यालयले १७ औँ वार्षिकोत्सव मनाइरहँदा कक्षा १ देखि १० सम्मका सबै कक्षामा स्मार्ट कक्षा प्रणाली लागू गरिसकेको जानकारी दिँदै प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीलाई समयअनुकूल शिक्षा प्रदान गर्ने लक्ष्य पूरा गरिएको बताए। साथै विद्यालयका सबै कक्षा कोठामा एसी जडान गर्ने कार्य पनि सुरू गरिएको उनले जानकारी दिए।

कार्यक्रममा विद्यालयका अध्यक्ष मोहनप्रसाद ढकालले विद्यालयको यात्रा सहज नभए पनि विभिन्न आरोह–अवरोह पार गर्दै आजको स्थानमा आइपुगेको उल्लेख गरे। शिक्षक, अभिभावक र स्थानीय समुदायको साथ र विश्वासकै कारण विद्यालय निरन्तर अगाडि बढिरहेको उनको भनाइ थियो। उनले भविष्यमा पनि विद्यालयलाई अझ नमुना शिक्षालय बनाउने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा समाजमा योगदान पुर्‍याएको भन्दै सुकुना क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, राजकुमार तामाङ र केशवकुमार सुनामलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट अभिभावकहरूलाई पनि सम्मान गर्दै विभिन्न पुरस्कार प्रदान गरिएको थियो।

वार्षिकोत्सवमा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, स्पिच तथा कला प्रस्तुतीहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए। साना बालबालिकादेखि ठूला कक्षाका विद्यार्थीहरूसम्मले आफ्नो प्रतिभा प्रस्तुत गर्दा अभिभावकहरू भावुक भएका थिए । कार्यक्रममा “पूर्वाञ्चल पब्लिक एक्स्पो २०८२” समेत सञ्चालन गरिएको थियो।

विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनात्मक कार्यक्रमहरूले विद्यालय केवल पढाइको केन्द्र मात्र नभई प्रतिभा उजागर गर्ने सृजनशील मञ्च पनि भएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो, जसले विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गरेको विद्यालयले जनाएको छ।

१७ वर्षअघि सानो प्रयासबाट सुरु भएको पूर्वाञ्चल पब्लिक स्कुल सुन्दरहरैंचामा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा स्थापित हुँदै गएको छ। विभिन्न चुनौती र संघर्षका बीच निरन्तर अघि बढ्दै आएको विद्यालय अहिले नमुना शिक्षालय बन्ने यात्रामा अग्रसर रहेको स्थानीय अभिभावकहरूको विश्वास छ।

वार्षिकोत्सव समारोहले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा र संस्कृतिको सुन्दर संगम प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा सहभागीले विद्यालयको आगामी यात्रा अझ उज्ज्वल र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया