मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङ मोरङको सुन्दरहरैँचा–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

पाँच दिनसम्म सञ्चालन भएको वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। साथै, टिकाराम षडानन्द दाहाल स्मृति अक्षयकोषद्वारा आयोजित नगरस्तरीय अन्तर सामुदायिक माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता गछिया ब्लकमा सम्पन्न भएको थियो। हाजिरीजवाफ प्रतियोगितामा साजीलाल माध्यमिक विद्यालय प्रथम, सुकुना माध्यमिक विद्यालय द्वितीय तथा जनता माध्यमिक विद्यालय, बुधबारे तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।प्रतियोगितामा सहभागी विद्यालय तथा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले प्रतियोगिताले विद्यार्थीहरूमा शैक्षिक ज्ञान, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिए।

वार्षिकोत्सबको अवसरमा अक्षयकोष छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विद्यालयका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्नुका साथै अभिभावक, शिक्षक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु रहेको छ।

समापन समारोहमा ६० औँ वार्षिकोत्सब, अभिभावक दिवस तथा मुख्यपत्र विमोचन, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएको थियो। समारोहका प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईले साजीलाल माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै शिक्षा व्यवहारिक, गुणस्तरीय तथा भयमुक्त हुन आवश्यक रहेको बताए।

कार्यक्रममा शिक्षक प्रोत्साहन अक्षयकोषबाट शिक्षक चुडामणि दुलाल, विद्यालयबाट कर्मचारी रोहितबहादुर वि.क
विद्यालयलाई पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै शिक्षक भवानीशंकर ढकाल, अतिरिक्त क्रियाकलापतर्फ जयराम राजवंशी लगायतलाई सम्मान गरिएको थियो। साथै पूर्व समिति सदस्य रामप्रसाद उप्रेती,पूर्व विद्यार्थी भक्तिप्रसाद सिटौला, सोभितलाल चौधरी तथा पूर्व शिक्षक शिवनारायण चौधरीलाई विशेष सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा राजनीतिकर्मी तथा समाजसेवी गुरु वराल,जीवन राई ,सुकुना माविका प्र.अ. हिम्मत वस्नेत पूर्व विद्यार्थी प्रेमप्रकाश उप्रेती लगायतले बाेलेका थिए। विविध नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको समारोहमा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र ओझाको सभापतित्वमा सम्पन्न भएको थियो।कार्यक्रम बासुदेव पोख्रेल र नरोत्तम श्रेष्ठकाे संचालन सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया