मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ मा अवस्थित हिउँचुली अफसेट प्रेसले विगत १५ वर्षदेखि गुणस्तरीय छपाइ सेवामार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आएको छ ।
वि.सं. २०६७ सालमा स्थापना भएको यस प्रेसले छपाइसम्बन्धी सम्पूर्ण सेवा एकै स्थानबाट प्रदान गर्दै आएको उल्लेख गरिएको छ । कृष्णप्रसाद ओझा र सुमन खतिवडाको संयुक्त लगानी र व्यवस्थापनमा सञ्चालन हुँदै आएको हिउँचुली अफसेट प्रेसले सुरूमा विराटचोकमा भाडाको घरबाट सेवा सुरू गरेको थियो। करिब १५ वर्षसम्म त्यहीँ सञ्चालन गरेपछि हाल आफ्नै भवनबाट सेवा दिइँदै आएको छ। हाल विराटचोक र इटहरी गरी दुई स्थानमा शाखा सञ्चालनमा छन्। इटहरी शाखा विगत ५ वर्षदेखि सञ्चालनमा रहेको छ, जसको जिम्मेवारी सुमन खतिवडाले सम्हालिरहेका छन् भने विराटचोक शाखाको सञ्चालन कृष्णप्रसाद ओझाले गर्दै आएका छन्।
सञ्चालक मध्येका एक ओझाको जन्म वि.सं. २०४० सालमा साविक बाहुनी गाविस (हाल बेलबारी नगरपालिका–८), मोरङमा भएको हो। हरिप्रसाद ओझा र चित्ररेखा ओझाका दोस्रो सन्तानका रूपमा जन्मिएका ओझा स्नातक तह उत्तीर्ण हुन्।
छापाखाना व्यवसायमा आउनुअघि उनले वि.सं. २०६२ देखि २०६७ सम्म इटहरीमा फोटोग्राफी तथा भिडियो निर्माणसम्बन्धी व्यवसायिक अनुभवसमेत हासिल गरेका थिए। सोही अनुभव र उद्यमशील सोचका आधारमा उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित छापाखाना व्यवसाय सुरू गरेका हुन् । ओझा सामाजिक तथा पेशागत संघसंस्थामा समेत सक्रिय छन्। उनी नेपाल मुद्रण उद्योग संघ मोरङका सहसचिव, सुन्दरहरैँचा उवासका कोषाध्यक्ष तथा इन्द्रपुर जेसिजका पूर्व अध्यक्ष हुन्। साथै उनी लायन्स क्लब अफ इन्द्रपुरका बोर्ड सदस्यसमेत रहेका छन्।
हिउँचुली अफसेट प्रेसमा हाल करिब १ करोड रुपैयाँ बराबरको कुल लगानी रहेको उल्लेख गरिएको छ । सुरुको लगानी १५ लाख रुपैयाँबाट व्यवसाय प्रारम्भ गरिएको थियो। हाल दुवै शाखामा गरी करिब १५ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ। प्रेसमा १ कलरदेखि ४ कलरसम्मको छपाइ सुविधा उपलब्ध रहेको ओझाले बताए । किताब, बिल भौचर, मायाको चिनो, हस्तकलाका सामग्री, प्लेक्स बोर्ड, विज्ञापन सामग्री लगायत विविध प्रकारका मुद्रण सामग्री उत्पादन गरिँदै आएको छ ।
कोभिड–१९ पछि मुलुकको आर्थिक मन्दी, अस्वस्थ प्रतिस्पर्धा, प्रविधिको तीव्र प्रयोग, कुशल कालीगढको अभाव तथा राज्यको नीतिगत कमजोरीले छापाखाना व्यवसायमा चुनौती थपिएको सञ्चालक ओझाको भनाइ छ। उनका अनुसार स्थानीय स्तरमै राम्रो काम हुँदाहुँदै पनि छपाइका काम बाहिर लगेर गरिने प्रवृत्तिले स्थानीय व्यवसायलाई असर परेको छ। साथै छापाखानामा उधारोमा काम गराएर लामो समयसम्म भुक्तानी नदिनु, केही राजनीतिक दल तथा निकायबाट समयमै भुक्तानी नहुनु पनि ठूलो समस्या बनेको उनले बताए। जिम्मेवार निकाय तथा स्थानीय सरकारको अपेक्षित सहयोग नपाउनु पनि छापाखाना क्षेत्रका लागि चुनौतीपूर्ण रहेको उनको गुनासो छ।
विविध चुनौतीका बीच पनि हिउँचुली अफसेट प्रेसले स्वदेशमै रोजगारी सिर्जना गर्दै सरकारलाई नियमित कर तिर्दै आएको छ, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याइरहेको उल्लेख गरिएको छ । स्थानीय स्तरमै उद्यमशीलताको राम्रो उदाहरण बनेको हिउँचुली अफसेट प्रेसले आगामी दिनमा अझ आधुनिक प्रविधि भित्र्याउँदै सेवाको दायरा विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ ।





