सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट करदाता सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको छ।
।।सुन्दरहरैँचा नगरपालिका, आन्तरिक राजस्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोकको संयुक्त आयोजनामा मंगलबार आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यवसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) जारी गर्दै सेवा प्रवाह सुरु गरिएको थियो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख केशवकुमार उप्रेतीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै प्रशासनिक हस्तान्तरण मार्फत संघीयता सुदृढ बनाउन यसले महत्वपूर्ण टेवा पुर्याउने बताए । कार्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने निर्णय गरेपछि पालिकाहरूबाट सेवा सुरु गरिएको उनले जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले नागरिकले सहज र सरल ढंगले सेवा पाउने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरे ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले स्थानीय सरकारबाट करदाता सेवा सुरु हुनु खुसीको विषय भएको बताउँदै अझै पनि अन्तःशुल्क लिन विराटनगर जानुपर्ने अवस्था रहेकाले झन्झटिलो भएको उल्लेख गरे । आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय सुन्दरहरैँचामै स्थापना हुनुपर्ने माग राख्दै उनले हाल व्यवसायीहरू निराश अवस्थामा रहेकाले राज्यले करदातालाई अझ प्रभावकारी र सहज सेवा दिनुपर्नेमा जोड दिए ।
नगरप्रमुख गुरागाईंले हालको जनशक्तिले तोकिए अनुसार सेवा दिन सक्षम रहेको उल्लेख गर्दै गुणस्तरीय र छिटो सेवा उपलब्ध गराइने विश्वास दिलाए । करदाताबाट हुँदै आएका सेवा स्थानीय तहबाट अधिकतम उपयोग गर्न व्यवसायीहरूलाई आग्रह पनि गरे ।
कार्यक्रममा उपप्रमुख अकली चौधरी, कार्यपालिका सदस्यहरू, सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, सुन्दरदुलारी उद्योग वाणिज्य संघका प्रमुख एवं पदाधिकारीहरू, बैंक तथा वित्तीय संस्थाका प्रमुख, संघ/संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।





