सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।

साधारण सभाको उदघाटन सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले गरेका थिए । सभालाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले घाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधा सम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरे । उनले नगरवासीको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

साधारण सभामा घाट निर्माण कार्यलाई तीव्रता दिन समाजका अगुवाहरू सक्रिय रूपमा जुटिरहेको जानकारी गराइएको थियो। सभाले नवराज चापागाईंको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा धनमाया तामाङ र राजेन्द्रप्रसाद दाहाल, सचिवमा दिलीप दाहाल, सहसचिवमा मोहनलाल श्रेष्ठ तथा कोषाध्यक्षमा टीका सुवेदी चयन भएका छन्

सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो । हालसम्म सुन्दरहरैँचा नगरभित्र व्यवस्थित मुक्तिघाटको अभावका कारण नगरवासीहरू अन्तिम संस्कारका लागि इटहरी वा बेलबारी क्षेत्रका घाटहरूमा निर्भर रहनु परेको अवस्था रहेको सभामा उल्लेख गरियो। लोहित गंगा मुक्तिघाट निर्माण सम्पन्न भएपछि सुन्दरहरैँचा पूर्वी क्षेत्रका नागरिकलाई अन्तिम संस्कारका कार्यमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।

यसैबीच, पछिल्लो समय घाट निर्माणमा अनियमितता भएको भनी सामाजिक सञ्जालमा आएका विषयवस्तुहरूबारे पनि सभामा छलफल गरिएको थियो। छलफलपछि ती आरोपहरू तथ्यहीन, गलत तथा भ्रामक रहेको निष्कर्ष निकाल्दै तथ्यबिनाका सामग्री सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरिएको छ। साथै, सत्य–तथ्यमा आधारित विषयवस्तु मात्र सार्वजनिक गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया