सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयले धरानस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज सिजन ४ हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा ४५ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रारम्भिक चरणमा तेस्रो स्थान हासिल गर्दै अन्तिम चरणमा प्रवेश गरेको साजीलाल मा.वि.ले फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो। विद्यालयको तर्फबाट सहभागी विद्यार्थीहरू जिवितेस कट्टेल, रमा घिमिरे र संस्कार पोखरेलले उल्लेखनीय प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने प्रतिनिधि शिक्षक भविन्द्र घिमिरे तथा तयारीमा संलग्न सम्पूर्ण शिक्षक टोलीको अथक मेहनतले यो सफलता सम्भव भएको विद्यालयले जनाएको छ। यस गौरवमय उपलब्धिले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा खुसीको माहोल सिर्जना गरेको छ। सफल विद्यार्थीहरू, प्रतिनिधि शिक्षक तथा सम्पूर्ण शिक्षक टोलीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

विद्यालयका प्रधानाध्यापक श्याम काफ्लेका अनुसार, साजीलाल माध्यमिक विद्यालयले यस वर्ष लगातार ५ वटा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस ऐतिहासिक उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण विद्यार्थी तथा शिक्षकप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया