सुन्दरहरैँचा / मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थित शिक्षानिकेतन माध्यमिक विद्यालयको ३९औँ वार्षिक उत्सव बुधबार सम्पन्न भएको छ।

वार्षिक उत्सव कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर सुवेदीले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै अतिथिहरूले उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए। विद्यालयका प्रधानाध्यापक ठाकुर सुवेदीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

वि.सं. २०२८ सालमा सानो छाप्रोबाट पठनपाठन सुरु गरेको यस विद्यालयले २०४४ सालमा औपचारिक मान्यता प्राप्त गर्दै आफ्नो शैक्षिक यात्रा अघि बढाएको हो। हाल विद्यालयमा करिव १ हजार विद्यार्थी अध्ययनरत छन् भने ४५ जनाभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।

आफ्नै स्कुल बस सेवाको सुविधा, अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन, साथै प्रभावकारी व्यवस्थापन अभ्यासका कारण शिक्षानिकेतन माध्यमिक विद्यालय पछिल्लो समय उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरिएको छ । कार्यक्रमकाे अवसरमा विद्यालयको प्रतिवेदन प्रस्तुति , शिलालेख अनावरण, सम्मान एवं पुरस्कार वितरण तथा रोचक सांस्कृतिक कार्यक्रम लगायत भएको थियाे ।

तपाईको प्रतिक्रिया