सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले नगरस्तरीय छात्र फुटबल प्रतियोगितामा पुनः ऐतिहासिक सफलता हासिल गरेको छ ।
१४ वर्षमुनिका छात्र फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। यसअघि २०८० र २०८२ सालमा पनि च्याम्पियन बनेको उक्त टोलीले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो पटक विजय यात्रा दोहोर्याएको छ। खेलमा अनुशासन र खेल कौशल प्रस्तुत गर्दै प्रतिस्पर्धी टोलीलाई पराजित गरेको विद्यालयले जनाएको छ।
टोलीको यस सफलताले विद्यालयको खेलकुद क्षेत्रमा मात्र होइन, समग्र शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत सिद्धार्थ सेकेन्डरी स्कुल अग्रणी रहेको प्रमाणित गरेको विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतकाे भनाइ रहेको छ ।
खेलाडी विद्यार्थीहरूको मेहनत, प्रशिक्षकको मार्गदर्शन तथा विद्यालयको निरन्तर सहयोगले यो सफलता सम्भव भएको जनाइएको छ। विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले च्याम्पियन टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा पनि स्थानीय लगायत राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिइएको छ। ~ मणिराम दाहाल





