साहित्य मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हाे : रामविक्रम थापा
<span;>साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे जन्म वि.स २०२६ सालमा बाम्राङ–८ खोटाङमा भएको हाे । थापाकाे माता पिताको नाम स्व. तुलामाया थापा तथा स्व. सैनध्वज थापा हाे । उनकाे शैक्षिक याेग्यता वि.एस्सी तथा एम.एड. सम्म रहेको छ । साहित्यकार थापाकाे लेखन आरम्भ वि.सं. २०३८ सालदेखि निरन्तर रहेको छ । उनका लेखनका विधाहरू छन्दोबद्ध र गद्य कविता, लघुकथा, बालकविता, गजल, लेख, निबन्ध, लोककथा, समीक्षादि रहेका छन् । थापाका गोरखापत्र, मधुपर्क, गरिमा, मिर्मिरे , कान्तिपुर लगायतका विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशन भएका छन् । साहित्यकार थापाका प्रकाशित कृतिहरू पात्रहरू (लघुकथा–सङ्ग्रह : २०५५), छरिएका कविता (कवितासङ्ग्रह : २०५६), बालपोष (बालकविता–सङ्ग्रह : २०६४), राम्रो बानी (बालकविता—सङ्ग्रह :२०७३), सुनापातालको सुनाझाँक्री (बालचित्र कथा —२०७३, कथालय ), ट्याम्केको घुमघाम (बालचित्र कथा—२०७३, कथालय), आकाशको बञ्चरो (बालकथा सङ्ग्रह—२०७४, गाउँभरि भूतको हल्ला ( बालकथा सङ्ग्रह—२०७४ तथा जे माग्यो त्यही दिने पोखरी ( बालचित्र कथा—२०७५ गरि ९ वटा कृतिहरू हाल सम्ममा प्रकाशित भै सकेका छन् । थापाका प्रकाशोन्मुख कृतिहरूमा कृष्णगर्तका ताराहरू (लघुकथा–सङ्ग्रह), राविथाका गजलहरू (गजल–सङ्ग्रह), खोटाङका लोककथा (लोककथा–सङ्ग्रह : संकलन), विगतका साक्षात्कारहरू (अन्तरवार्ता–सङ्ग्रह), बाल खिचडी (बालकविता–सङ्ग्रह), जोगी खिचडी (निबन्ध–सङ्ग्रह) , गा.वि.स. सचिवका १४ वर्ष (संस्मरण–सङ्ग्रह) तथा रामविक्रम थापाका कविता (कविता–सङ्ग्रह) रहेका छन् ।
<span;> साहित्यकार थापाले प्राप्त गरेका पुरस्कार तथा सम्मान हरूमा धनहाङ्मा–भैरब राई राष्ट्रिय कविता पुरस्कार , उत्कृष्ट कला पुरस्कार , खोटाङबाट अभिनन्दन , मोहन रेग्मी–वाणी सम्मान (वाणी प्रकाशन, विराटनगर), अदृश्य गोरेटो साहित्यिक परिवारबाट सम्मान , “प्रहरी” उत्कृष्ट लेखक पुरस्कार (प्रहरी प्रधान कार्यालय काठमाडौं), रावासावा प्रतिभा पुरस्कार , शिक्षक मासिक, उत्कृष्ट समीक्षक पुरस्कार (काठमाडौँ ), जिशिका खोटाङबाट कदरस्वरुप प्रशंसापत्र, उत्कृष्ट शिक्षक पुरस्कार श्री सरस्वती मा.वि. दिक्तेल खोटाङ तथा प्रादेशिक (कोशी, भाषा,साहित्य) प्रतिभा पुरस्कार २०८० लगायत रहेका छन् ।थापाकाे कार्य अनुभवमा गा.वि.स. सचिव–१४ वर्ष तथा निजीस्रोत शिक्षक–१५ वर्ष रहेको छ । हालको पेशा स्थायी शिक्षक (मा.वि.–गणित) मा.वि द्वितीय श्रेणी रहेकाे छ । सम्प्रति श्री सरस्वती मावि दिक्तेल,दिरुम नपा—१,खोटाङ रहेको छ । हालको स्थायी ठेगाना माेरङ सुन्दरहरैँचा न.पा. १० मा बसाेवास गर्ने लाेकप्रिय साहित्यकार थापासँग गरिएको समसामयिक कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
<span;>१ . साहित्य तथा शिक्षा क्षेत्रमा किन र कसरी निटक हुनुभयाे ?
<span;>= २०३४-०३५ सालमा ४-५ कक्षाको विद्यार्थी अवस्थादेखि बालकविता सिर्जना गर्दै साहित्य क्षेत्रमा म निकट भएको हॅु ! तत्कालीन “ महेन्द्रमाला “ ( हालको नेपाली ) पाठ्यपुस्तकका कविता र कथा पढ्दा साहित्यिक पठन र लेखनमा मेरो रूचि बढ्यो ।महाकवि देवकोटा,कविशिरोमणि लेखनाथ, युगकवि सिद्दिचरणका कविताका किताबहरू साझा प्रकाशनको दिक्तेल शाखाबाट खरिद गरेर पढियो ।” मुनामदन” त मैले -।५५ पैसामा किनेर पढेको मलाई अझै याद छ । हुलाकबाट प्रेषित् बालकविता रेडियो नेपालको बाल कार्यक्रमबाट प्रशारण हॅुदा अधिक खुशी भइयो ।पढ्दै र लेख्दै जॅादा साहित्यको अम्मली नै भइयो एकताका ।प्रशारण , प्रकाशन र पुरस्कारले ऊर्जा बढाए ।यसरी म साहित्य क्षेत्रमा निकट भएको हॅु ।विद्यालयका हरेक कक्षामा प्रथम हॅुदै आएको मैले विज्ञानको उच्च शिक्षा लिएपछि गणित/ विज्ञानको तथ्य ज्ञान बाँड्ने अभीष्टले निजामतिको स्थायी जागिर छाडेर म शिक्षण पेशामा आएँ । अत: आत्मसन्तुष्टि र समाजसेवाकै लागि भन्दै म साहित्य अनि शिक्षा क्षेत्रमा निकट भएर अनेक बिरामका बाबजुद हालसम्म लागिरहेको छु ।
<span;>२. यहाँको विचारमा साहित्य भनेकाे के हाे ?
<span;>= जीवनजस्तै साहित्यको परिभाषा गर्नु सहज छैन ।दृष्टिकोण आ-आफ्नै हुन्छन् । मेरो विचारमा साहित्य भनेको मानसिक खुराक हो र मनलाई उज्यालो बनाउने दिप्त प्रकाश हो । समाज परिवर्तनका लागि साहित्य एउटा सशक्त हतियार पनि हो ।कुनै पनि कार्यमा यसले सकारात्मक ऊर्जा प्रदान गर्दछ । कुनै कालखण्ड र समाजको यथार्थ चित्रण गर्ने सजीव ऐना पनि हो साहित्य ।
<span;>३ . के कति वटा कृतिहरू प्रकाशित गर्नुभयाे ?
<span;>= २०५५-२०७५ को बीसवर्षे समयावधिमा लघुकथा , कविता , बालकविता र बालकथा विधाका गरी जम्मा ९ ( नौ ) वटा कृति मात्र प्रकाशन गर्न सम्भव भयो ।प्रकाशक र पाठकको अनिकालले गर्दा २०७५ यता मैले कुनै किताब प्रकाशन गर्न नसकिरहेको तीतो यथार्थ छ । विभिन्न पत्रपत्रिकाहरूमा छरिएर रहेका मेरा फुटकर रचनालाई संगृहीत गरी कविता , लघुकथा, बालकविता, लोककथा , समीक्षादिका १/१ वटा पुस्तक प्रकाशित गर्ने उत्कट रहर र लक्ष्य मरेको छैन ।शारीरिक अस्वस्थता ,समयाभाव र आर्थिक पाटाले कृति प्रकाशनमा ढिलाई हुन गइरहेको अवस्था छ ।हेरूॅ – मेरो रहर र लक्ष्यलाई भविष्यले के भन्छ ?
<span;>४. यहाँको साहित्यले समाजलाई दिन खाेजेकाे संदेश के हाे ?
<span;>= हामी बाँचिरहेको समाज र समयका विकृति, विसंगति, अन्याय , अत्याचार, शोषण , दमन ,भ्रष्टाचारादिको चिरफार गर्दै समाज रूपान्तरणको पक्षमा सशक्त सन्देश दिनु मेरो साहित्य- सिर्जनाको प्रमुख सन्देश हो ।पाठकलाई विविध क्षेत्रका मानसिक खुराक र मनोरन्जन प्रदान गर्दै आत्मसन्तुष्टि प्राप्त गर्नु मेरो सिर्जनाको अभीष्ट हो ।यही समाजबाट कच्चा पदार्थ लिएर यही समाजलाई यथासक्य सकारात्मक सन्देश दिनु नै मेरो साहित्यको उद्देश्य मान्नुस् ।
<span;>५. नेपाली साहित्यमा के कस्ता विकृतिहरू रहेको पाउँनु भएको छ ?
<span;>= राजनीतिक रड. ,गुट , उपगुट ,जात ,……..आदि विविध विकृतिहरूले नेपाली साहित्यमा ग्रहण लागेको कोक्याइलो चित्र छ । गणतान्त्रिक कालमा त यो मौलाएर अधिक बौलायो । एकपक्षकाले अर्को पक्षकालाई पाइलैपिच्छे पूर्ण निषेध गर्ने यो गूषित ( दूषित) वातावरणलाई के भन्ने ? सरकारी पुरस्कार त आफ्नोबाहेक अरू पक्षका साहित्यकारलाई चुहाउॅदा पनि चुहाइन्न ।निजीस्तरका पुरस्कार पनि पार्टीगत, जातिगत , व्यापार र आदानप्रदान हुने गरेका छन् ।बिनापार्टीको मान्छे अहिले साहित्यकार त के मान्छे पनि हुदैन यहाँ ! झोले , चम्चे, भकुण्डे , हुक्के , ढुक्के र बैठकेहरू नै अब्बल साहित्यकार हुनु बिडम्बनाबाहेक केही होइन ।एकेडेमीको प्राज्ञ खान पार्टी परिवर्तन गरेर सत्तापक्षमा जाने स्वनामधन्य साहित्यकार पनि देख्न पाइएकै हो ।अत : भरमार विकृतिहरू बग्रेल्ती छन् नेपाली साहित्यमा ।पुरस्कार र पद मात्र होइन ,रचना र किताब छाप्न पनि यो मान्छे कुन पार्टीको हो भनेर खोजीनीति गरिन्छ ।
<span;>६ . स्रण्टाहरूका लागि सरकारले के गरि दिए हुन्थ्याे जस्तो लागेको छ ?
= निश्चित मापदण्ड निर्धारण गरी साहित्यकारको पहिचान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत् सरकारले परिचय-पत्र वितरण गरोस् ! भौगोलिक समावेशिताका आधारमा हरेक प्रदेशमा प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गरियोस् ।हरेक जिल्लामा पनि प्रज्ञा प्रतिष्ठानका शाखाहरू गठन हउन् ।अत: केन्द्र , प्रदेश र जिल्लास्तरमा नेपाल प्रज्ञा प्रतिष्ठानका शाखा र उपशाखा गठन गरेर नीति र बजेटसहितका कार्यक्रम सन्चालन गरोस् सरकारले ( तीनै तहका सरकारले )भन्ने म चाहन्छु ।साहित्य क्षेत्रका सरकारी पुरस्कार राजधानीकेन्द्रित नहुन् ।जन्मको नाता जोडेर राजधानीवासी साहित्यकारले खोटाड• र हुम्लाका भाग नखाउन् !
७ . नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउँन के गर्नु पर्ला ?
= पहिलो काम त चेतना र कलाका दृष्टिले अब्बल र नवीनतम वैश्विकस्तरको साहित्य सिर्जना हुनुपर्यो ।त्यसपछि प्रचलित विदेशी भाषामा अनुवाद हुनुपर्यो ।अनि प्रचार-प्रशारको माध्मबाट अनुवादित नेपाली साहित्यलाई विदेशी पाठकमा पुर्याउनु पर्यो । यो कार्य सरकारी साहित्यिक संस्था नेपाल प्रज्ञा प्रतिष्ठानको हो जस्तो लाग्छ मलाई !
८. साहित्यमा लागेर के पाँए के गुमाए जस्तो लागेको छ ?
= साहित्यमा कसैको कर र बाध्यताले होइन ,आफ्नै रूचि र रहरले लागिएको हो ।थोरै साहित्यिक पहिचान र आत्मसन्तुष्टि प्राप्त भयो यसबाट ।युवावयको उर्वर समय साहित्यमा लगानी गर्दा जागिरसम्बन्धी र अन्य अवसरहरू ( केही ) गुमाएजस्तो लाग्छ ।यद्यपि उस्तो गुनासो र पश्चाताप छैन ।अप्रकाशित ४/५ वटा कृति छापेर मात्र अस्ताउन पाए सन्तोष हुनेथियो भन्ने लागिरहन्छ ।
९ . जीवन र जगतलाई के कसरी परिभाषित गर्नुहुन्छ ?
= जन्म र मृत्यु नामका दुई बिन्दुबीचको बक्ररेखालाई म जीवन भन्ने गर्छु । संघर्षको अर्को नाम नै जीवन भएकाले यसलाई पहाडको नागबेली नदीकारूपमा पनि चित्रण गर्न सकिन्छ ।थुप्रै आरोह अवरोहहरूको एउटा क्षणभंगुर झिल्को नै जीवन हो जस्तो लाग्छ ।यस्तै जीवनहरूको समष्टिगत रूप नै जगत हो ।जीवन छ र नै जगत छ , जगत छ र नै जीवन छ ।जीवन भएरै सुख र दु:खहरू छन् , जाडो र गर्मीहरू छन् ।अधिक दु:ख र पीडाहरूमा हेलिनुपर्ने जीवनको सुख र खुशी भनेका त पाहुनातुल्यै हुन्छन् , आएर मिलिक्क गइहाल्छन् – विजुली चम्केजस्तै। -॰॰॰॰॰-
प्रस्तुति : मणिराम दाहाल





