माेरङ / शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम, कानुन, निर्देशिका तथा मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयनका विषयमा कोशी प्रदेश स्तरीय अधिकृत अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरु भएको छ।
पुस १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, १३७ वटा स्थानीय तहका शिक्षा अधिकृतहरू, शिक्षा तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय, नेपाल नगरपालिका सङ्घ, नेपाल गाउँपालिका महासङ्घका प्रतिनिधि लगायतको सहभागिता रहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। १५० जनाभन्दा बढी शिक्षा अधिकृतहरूको सहभागितामा भइरहेको अभिमुखीकरणले वर्तमान शिक्षा प्रणालीका नीति, नियम, कानुन तथा निर्देशिकालाई अझ प्रभावकारी र विकासोन्मुख बनाउने उद्देश्य राखेको शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक नीलकण्ठ ढकालले जानकारी दिए।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक अण प्रसाद न्यौपाने, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका सचिव उद्धवप्रसाद रिजाल, शिक्षा विकास निर्देशनालय धनकुटाका प्रमुख निर्देशक कृष्णप्रसाद पोखरेल, शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख गोपाल प्रसाद दाहाल तथा युनिसेफका प्रतिनिधि जिममे लगायतको सहभागिता रहनेछ।
यस प्रकारको अभिमुखीकरण कार्यक्रम यसअघि ६ वटा प्रदेशमा सम्पन्न भइसकेको जानकारी शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले दिए।
एक्काइसौँ शताब्दीको आवश्यकता अनुसार प्रविधिमैत्री, सीपमूलक तथा विश्व प्रतिस्पर्धामूलक शिक्षा प्रणाली विकास गर्न शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको कार्यक्रमका सहजकर्ता नीलकण्ठ ढकालले बताए।





