विविशारा,वसन्ततिलका
– होमनाथ घिमिरे
यौटा कथा “विपन”को जब पढ्न थाल्छु !
गम्भीर बन्छु मनमा घटना नियाल्छु !
जन्मेछ बालक जहाँ घर गाउँ आज ।
देख्दैछु दुर्गम अझै परको समाज !१।
*
खेती किसान कृषिमा जब युग्मसाथ !
बुन्छन् अनेक सपना मनमा छ खात !
छन् प्रेमका लगनमा किन भिन्न जात ।
हुन्नन् खुसी हृदयमा धमिलो प्रभात !२।
*
दैवीप्रकोप घटना कति कष्टदायी !
पैह्रो छ दुस्मन त्यहाँ परिवारलाई !
माता पिता र सँगको प्रिय भाइलाई !
आयो बनेर यम झैँ सबको रुवाई !३।
*
प्रारब्ध छन् जति यहाँ सब भोग्नुपर्छ
हो; जाँच जीवन कथा तब जोख्नुपर्छ !
आख्यान बढ्छ कसरी पथ आज नौलो !
बच्चा अबोध वयमा कुन खोल्छ दैलो !४।
*
हा हा छुट्यो रहरको परिवार आज !
संसार निर्मम रह्यो निठुरी समाज !
पाएर आश्रय जहाँ दिन तीनसाल !
भोग्दै गयो समयको अझ क्रूर चाल !५।
*
भोको छ पेट यदि यो किन शान्ति दिन्छ !
सम्पूर्ण भ्रान्ति नरको मनबाट छिन्छ !
हुन्नन् पिता र जननीसरि लोकमाझ !
बुझ्दैछ भर्खर यहाँ शिशुले समाज !६।
*
माझेर बर्तन तथा कपडा धुँदामा !
माझिन्न कत्ति हृदका कलिला मुनामा !
डोको र घाँस छ अझै दिनरात काम !
गर्दैछ काम बिचरा परपेट खान !७।
*
भन्दैछ “जीवन” यहाँ यसरी त भाइ !
होला अवश्य पछुतो नबुझे तँलाई !
गम्भीर त्यो “विपन”को मनभित्र पोल्छ !
होला उपाय कुन त्यो दिल चित्त खोल्छ !८।
*
तिम्रो छ जीवन अझै करुणा मलाई !
लाग्दैछ विघ्न किन यो कसरी मलाई !
यौटै छ मार्ग अबको यस गाउँ छोडी !
यात्रा जहाँ सहरमा गर सोच मोडी !९।
*
फक्रेर फेरि सपना मनभित्र छायो !
मातापिता अनुजको किन याद आयो !
बोकेर सागर अझै दुखको पहाड !
फुल्दैछ हर्ष अहिले सुखको बहाड !१०।
*
यात्रा सुटुक्क कसरी मनबाट गर्छ !
साँच्चै अठोट जसरी तनमाझ भर्छ ।
भन्दैन जीवन थिए अझ मस्त रात !
देख्दैछ किन्तु सपना अब छुट्छ साथ !११।
*
आख्यान भित्र कविले कसरी कुदाए !
भावी बनेर दिल को जसरी पु-याए !
भेटिन्छ पण्डित कुनै बटुवा छ एक्लो !
छैनन् कुनै नजिकका दुनियाँ छ बेग्लो ।१२।
*
हुन्छन् ठुले मन त्यहाँ डर मात्र लाग्छ !
सन्ताप बढ्छ मुटुमा भयले उराल्छ !
छायाँ सगैँ मनुज यो किन नित्य डर्छ !
शङ्का बढेर ननिको कतिसम्म गर्छ !१३।
*
हो चेतना विषय यो यसबाट हामी !
पुग्छौँ सदैव भ्रममा अझ कष्ट थामी !
यो कल्पना विपनको कति बार बार !
थप्दैछ दुःख पथमा जति सत्य धार !१४।
*
भोग्दा सबै समयका मुटुमा प्रहार
बढ्दैछ साहस अझै पसिना छ धार !
चाहे धनी गरिब होस् सपना छ एक !
हुन्नन् समान हृदमा करुणा विवेक !१५।
*
आयो अहो सहर यो कुन दिन्छ हात !
बस्ती जहाँ निरस त्यो छ यहाँ प्रकाश !
खोजेर आश्रय यतै अब कर्म भोग !
के दिन्छ भाग्य त्यसरी सपना र योग !१६।
*
ती दाजु जीवन तथा करुणा विवेक !
यो धन्यवाद म दिऊँ र ठुले समेत !
सम्पूर्ण याद अघिको मुटुमा बिसाई !
यात्रा नयाँ विपनको अब बढ्छ भाइ !१७।
*
जो जन्मको थल हिजो अब त्यो बिरानो !
छोडेर गाउँ घर त्यो कुन मिल्छ रानो ?
खाते सगैँ जब बित्यो पहिलो निशाको !
छन् दुर्दशा सबतिरै नरमा बसेको !१८
*
बुझ्छन् हरेक दुखकाे जुन भोग्छ देख्छ !
आख्यानमा कलमले कवि जोख्छ लेख्छ!
आभारमा विपनले जब चित्त खोल्छ !
सम्पूर्ण कष्ट घटना तब शब्द बोल्छ ।१९।
*
सुन्छन् कथा विपनका शिशु हो अनाथ !
भावी बने वकिल ती परिवारसाथ !
राधा समान जननी बहिनी समेत
संयोग नाटक कि वा छविको विवेक !२०।
*
मौका मिल्यो विपनको करुणा छ माई !
देख्दैछ फेरि सपना अब पढ्नलाई !
यो कल्पना न त कतै छविको हरेक !
घट्छन् परन्तु घटना नरमा हरेक !२१।
*
भिन्दै स्वभाव छ त्यहाँ अझ भिन्न चाह !
यौटै छ लक्ष्य सबमा सब भिन्न राह !
हेरौँ कथा अब कता कुन मोड लिन्छ !
सम्पूर्ण पाठक सुधी कुन भाव दिन्छ !२२।
*
पीडा बुझेर घटना ममता रसायो !
राधा तथा वकिलकाे जब प्रेम पायो !
छोरो समान छ भनी ममता फिजाइन् !
वात्सल्य भित्र दिलको जननी भिजाइन् ।२३।
*
पढ्छन् सबै सँगसँगै घरमा उज्यालो ।
आयो हुँदा विपनले अति हर्ष बालो !
साह्रै सिपालु रहँदा गतिलो परीक्षा ।
आयो विशिष्ट नतिजा महनीय शिक्षा !२४।
*
पढ्दैछ मेहनतले घरको छ काम !
माया बढ्यो विपनमा गुरुबाट नाम !
सम्पूर्ण ध्यान कसरी नतिजा पढाइ !
शान्ता समेत बिमला अनि धर्मभाइ !२५।
*
पढ्ने सधैँ विपनले घर काम गर्दै !
माया अझै वकिलमा परिवार भर्दै ।
शान्ता समेत विमला अति हर्षसाथ !
पढ्दै छ पाठक बनी कवि होमनाथ !२६।
*
पाएर आश्रय जहाँ हँसिलो भविष्य !
चढ्दै उँभो विपनले शुभ कर्म लक्ष्य !
बुन्छन् अनेक घटना छवि भित्र भित्र !
संभावना छ नरमा कति झन् विचित्र !२७।
*
भावी बनेर जसरी सपना फिँजायो ।
नेपालटार घरमा सहयोग पायो !
भिन्दै चरित्र सबका वय वर्ष खास !
झल्किन्छ यौवन अहो छ अझै मिठास !२८।
*
जिज्ञासु भाव छ अहो वय झन् किशोर ।
सम्पूर्ण नूतन जहाँ कलिलो उमेर ।
शान्ता समेत बिमला परिवारसम्म !
छैनन् विभेद त्यतिको सहयोग डम्म ।२९।
छिन् यौवना विपिनकी सुषमा अघोर !
चढ्दैछ बैँस बिमला तन झन् कठोर !
भिन्दै स्वभाव तरुनीतिर पुग्छ ध्यान ।
पैसा प्रशस्त घरमा शठतुल्य ज्ञान ।३०
*
फस्दै जहाँ कुलतमा तनया छ ठिक्क !
माता पिता र घरका सबमाझ दिक्क !
यस्तै अनेक घटना परिवार भित्र !
आख्यानमा छ छवि महनीय चित्र !३१।
*
लोभिन्छ नेत्र कसरी जब पुष्ट देह !
बास्ना छ यौवन अझै भरिलो छ ध्येय !
पुग्छन् सधैँ विपन ती किन आसपास !
ती योगिनी मठ जहाँ मधु झैँ सुवास !३२।
*
कोठा पुगे विपन ती मन भो झसङ्ग ।
देखेर नग्न बिमला मनमा तरङ्ग !
छल्क्यो कुनै रस कुनै पुतली र फूल !
आइन् सदृश्य बिमला दृगमा समूल !३३
*
यौटा अनाथ मनमा कति भाव चल्छ !
देखेर हर्ष सबमा अति भित्र जल्छ !
पाएर साथ गतिलो सुखको भविष्य !
बुझ्दैछ है विपिनले भवको रहस्य !३४।
*
देखिन्न बन्धन कुनै परिवार भित्र
चिन्दैछ पात्र सबको छ खुला चरित्र !
भेट्टाउँदैछ सजिलो पथ या विचार !
होलान् अवश्य गतिलो अबको किनार !३५।
*
छायाँ र घाम सरि यो नरको मझेरी ।
हुन्नन् समान दिन या छ निशा अँधेरी !
होला कतै नियतिको पनि दोष फेरि !
कोही हुँदैन भवमा सब शून्य हेरि !३६।
*
खोजेर मिल्दछ कहाँ घरबास जस्तो !
रोजेर पुग्दछ कहाँ मन भाव जस्तो !
सङ्घर्ष जीवन यहाँ हर जीवलाई !
ठान्दैन कत्ति यसमा परिपूर्ण भाइ !३७ !
*
फेरिन्छ सोच मनको छ तृषा अघोर !
बेरिन्छ मानव सबै किन चल्छ जोर !
माता पिता सँग हुँदा पनि छन् समस्या !
पीडा अनाथ जनको त दशा; अवश्था !३८।
*
हान्छन् कतै प्रकृतिले यमतुल्य वाण !
हुन्छन् कुनै अधमका अति तुच्छ सान !
भोग्छन् सजीव भवका सुख दुःख सारा !
भेटिन्छ किन्तु सबका गुणका सहारा !३९।
*
यस्तै विशेष बिमला किन छिन् अनाथ !
उन्मुक्त बैँस भरिलो भँवरा छ पास !
चिन्ता कदापि तनया किन हेरचाह !
पुग्दैन किन्तु धनको यति विघ्न चाह !४०।
*
साथी र सङ्गत सधैँ किन यो खराब !
ज्वाला समान तनमा जब बल्छ आग !
बेहोस मादक अझै परिपुष्ट देह !
झुम्मिन्छ फूल भँवरा प्रणयी छ ध्येय !४१।
*
कोही अभाव सँगमा सपना लिएर !
बढ्दैछ नित्य पथमा कटुता पिएर ।
सम्पन्न छन् जति यहाँ सुखका घराना !
आए फसाद यतिका कति कष्ट नाना !४२।
*
भन्छन् कुनै दलित हो अब चित्त दुख्छ !
गन्छन् अनाथ शिशु हो तब शीर्ष झुक्छ !
गर्छन् विभेद कतिले अभिमान सान !
उस्तै छ जन्म सबको तटको चिहान !”४३।
*
सम्झिन्छ फेरि घरको अनि गोठुगाई !
कल्पिन्छ जीवन थिए जननी र भाइ !
संसारको नियममा जब जोख्न थाल्छ !
बेथा समस्त मनका अब पोख्न थाल्छ !४४।
*
उर्लेर बैँस बिमला जब पात्तिदैछे !
देख्दा त्यहाँ विपनकै तब मात्तिँदैछे !
आत्तिन्छ किन्तु जब त्यो कर तान्न थाल्छे !
झन् व्यङ्ग्यवाण मुटुमा पर हान्न थाल्छे !४५।
*
जिज्ञासु बन्छ मनमा प्रणयी छ भाव
बुझ्दैछ बल्ल अहिले युवती स्वभाव
छन् पुष्ट अङ्ग तनका नव यौवनाको !
देखेर चाल बिमला अति कामिनीको !४६।
*
शान्ता कनिष्ठ बहिनी सम त्यो उमेर !
हुन्छिन् झुकाव प्रणयी वय झन् किशोर !
देखिन्न बन्धन कुनै न त छन् विभेद !
पाएर आश्रय जहाँ छ खुसी विनोद ।४७।
*
भेट्दा अनाथ मठमा युवती छ खास !
हुन्छन् समीप मनमा सुषमा सुवास ।
यौटी अनाथ अबला शिशुको कहानी !
चढ्दै छ बैँस तनमा मृदुता जवानी ।४८।
*
पढ्छन् सबै सँगसँगै न कुनै विवेक ।
देखिन्न कत्ति मनमा न त दम्भ शेष ।
झन् व्यस्तता वकिल या गुरु मा समेत !
घट्दैछ भित्र घटना अति गुह्य एक !४९।
*
शान्ता सधैँ विपनको शुभनाम जप्छे !
अर्की त्यहाँ छ विमला पिरताप खप्छे !
प्रारब्ध भाग्य अथवा मनको विचार !
संवेग यौवन कि वा तनको विकार !५०।
*
पुग्छन् जहाँ विपिन आज अनाथ ठाउँ !
आएछ याद अहिले मनमा सुनाऊँ !
होलान् कतै विगतका सब मित्र साथी !
पाएर आश्रय जहाँ छ अकास छाती ।५१।
*
“काले” छ हालत उही सुनसान कस्तो !
साह्रै गलेछ तन झन् अझ लड्छ जस्तो !
सम्झेर याद अघिको मनका पुराना !
छन् चित्र दृश्य दिलमा कति विघ्न नाना!५२
*
उब्जिन्छ प्रश्न मनमा जति खातखात !
प्रारब्ध कर्म कुन हो बलियो सुवास !
भोग्छन् अभाव कतिले कति नित्य ध्यान ।
सोच्छन् भविष्य पछिको कि अबोध मान !५३।
*
चिन्ता तथापि विमलातिर सोच चल्दा ।
होला कि सङ्गत कि वा विपरीत छल्दा !
सम्पूर्ण इज्जत गयो परिवारभित्र !
पीडा दशा समयको कति रुग्ण चित्र !५४।
*
छिन् पार्वती प्रकृतिकी परिपुष्ठ देह !
छन् सोचमा विपन ती; कुन लक्ष्य ध्येय !
शान्ता यता घरबसी मनमा उमङ्ग !
रोप्छे सदैव सपना सुषमा तरङ्ग !५५।
*
के लेख्न सक्छ कविले युवती स्वभाव !
के देख्न सक्छ छविले रमणी लगाव !
सम्झेर पूर्व दिनका जब लेख्न थाल्छन् !
कल्पेर बैँस वयका सपना नियाल्छन् !५६।
*
उत्तीर्ण माध्यमिक हुँदा नतिजा परीक्षा !
खोजी छ उच्च तहको अझ पूर्ण शिक्षा !
शान्ता उदात्तपनमा मन खोल्न थाल्छिन् !
रङ्गीन बन्छ सपना दिलमा नियाल्छिन् !५७।
*
छन् पात्र भिन्नपनका उपन्यासभित्र !
इच्छा विभिन्न मनका छ त्यहाँ विचित्र !
भाषा र संस्कृति जहाँ अति झन् मिठास !
भेटिन्छ प्राञ्जल अहा ! रस विम्बसाथ !५८।
*
खोज्दैछ लुब्ध भँवरा रसपान गर्न ।
हाँस्दैछ फूल सुषमा मधुमास छर्न !
चल्दैछ यो प्रकृतिमा कति रीत राज
चाहे मनुष्य बिरुवा पशुको समाज !५९
*
छन् प्रेमको नगरमा मन हर्ष छर्दै !
छन् प्रेमको कहरमा तन ताप भर्दै !
घट्छन् अनेक घटना दिनरात साँझ !
भोग्दैछ भोग्दछ अझै सब यो समाज ।६०।
*
मर्दैछ दुर्व्यसनमा कतिको भविष्य !
भोग्दैछ सङ्कट कठै कति पुग्छ लक्ष्य !
संसार नाटक सबै भ्रमतुल्य लाग्छ !
यो सत्य बुझ्दछ भने तब लोभ भाग्छ ।६१।
*
विश्वासपात्र सजिलै खलपात्र बन्दा !
विश्वासमाथि धमिलो छ भनी नजान्दा !
विश्वासमा छ अहिले नरको कहानी ।
विश्वास जीवनकथा पनि जिन्दगानी !६२।
*
मातापिता र बहिनी घरका जहान !
बिर्सेर यौन रतिमा पर नाचगान ।
संस्कार संस्कृति कठै धमिलो छ आज !
धिक्कार्छ भोलि युगले जब यो समाज ।६३।
*
बोकेर चाह युवती र किशोर मित्र !
खेल्दैछ खेल दुनियाँ कति झन् विचित्र !
हो बाध्यता कि न कुनै मनरोग मात्र !
हो या कतै तुजुक यो धन भोग मात्र !६४।
*
फाटेर भूमि कसरी जल विन्दुबाट !
खोला नदी र झरना तल दूर घाट ।
हो; सृष्टि कै क्रम सबै जब हुन्छ भङ्ग !
पुग्छन् स्वयम् विरहमा नहुँदा उमङ्ग !६५।
*
मात्तिन्न खै प्रकृतिका गुण या चरित्र !
आत्तिन्न खै समयका गतिमा विचित्र ।
खै लोक लाज नरमा किन छन् बिहोस !
मातापितातिर कुनै अझ दृष्टि दोष ।६६।
*
पुग्ने कहाँ छ थल त्यो अनभिज्ञ जस्तो !
पुग्छन् समुद्र सहजै अनि तृप्त कस्तो !
पुग्छन् हरेक नरका मन कामनामा ।
अस्तित्व बाँच्छ विधिको पनि एकतामा !६७।
*
शान्ता किशोर वयकी पुतली समान !
झन् यौवना रमणमा रस चुस्न खान !
लालायित; स्मित मुहुनी जब बोल्न थाल्छे !
प्रेमी कठोर मनका पनि ऊ पगाल्छे ।६८ ।
*
घट्छन् अनेक घटना उपन्यास भित्र !
साँच्चै अहा! विविशरा रचना विचित्र !
संयोग जीवन सँगै जब हुन्छ भेट !६९।
*
आफ्नै कथा छ सबको छ उही कहानी ।
आफ्नै छ रम्य सपना तनका जवानी ।
यस्तै छ जीवन यहाँ सपना छ नौलो !
खोल्छिन् प्रिया प्रणयको अति सौम्य दैलो ।७०।
*
भेटिन्छ अन्तिम यहाँ उपहार एक ।
हार्दैन प्रेम नरमा न त यो विवेक ।
छन् बाध्यता कतिका हठमा समाज ।
उस्तै धरा गगनमा मृग स्याल बाज ।७१ ।
*
पढ्दा मिठास छ अहा मन तृप्त बन्छ !
साँच्चै कथा मुलुककाे जन आज भन्छ ।
छन् लेखनी मृदुमयी दिल तार छुन्छ ।
सङ्गीततुल्य रस शब्द विभोर हुन्छ ।७२।
*
साहित्यमा कवि बने छविले अनेक !
ल्याए विशिष्ट रचना छ सुधा सुवास ।
साहित्यका गगनमा कवि दिव्य तारा ।
छल्कोस् अझै हृदयमा नवनीत धारा !७३।
*
शुभकामना तथा बधाई 🇳🇵😍
– भरतपुर , चितवन





