सुन्दरहरैँचा / गीतकार तथा गजलकार राज लम्साल ‘यात्री’ द्वारा लिखित गजलसङ्ग्रह ‘यात्री’ माथि विमर्श तथा साङ्गीतिक गजल गायन कार्यक्रम मोरङको सुन्दरहरैँचास्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलको सभाहलमा सम्पन्न भएको छ।
कोशी साहित्य–कला परिषद् नेपाल, मोरङ, कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साहित्यकार छवि वैरागी घिमिरेले गजलसङ्ग्रहमाथि समीक्षात्मक मन्तव्य राखेका थिए। वक्ताहरूले ‘यात्री’ गजलसङ्ग्रहमा समेटिएका गजलहरूले समकालीन समाज, मानवीय संवेदना, प्रेम, पीडा, परदेशी युवा युवती, राष्ट्र राष्ट्रियता र नेपाली जनजीवनका विविध पक्षलाई कलात्मक रूपमा अभिव्यक्त गरेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न स्रष्टा तथा गजल गायकहरूले गजल वाचन र साङ्गीतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। कार्यक्रममा साहित्यकार, सर्जक, पत्रकार, शिक्षक, विद्यार्थी तथा गजलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल तथा सगरमाथा साहित्य प्रतिष्ठानको सहकार्यमा सम्पन्न कार्यक्रमको आयोजना कोशी साहित्य–कला परिषद् नेपाल, मोरङ, कोशी प्रदेशले गरेको हो। लेखक राज लम्साल ‘यात्री’ ले कार्यक्रममा सहभागी अतिथि, वक्ता, कलाकार, सहयोगी संस्था तथा उपस्थित सम्पूर्ण साहित्यप्रेमीप्रति आभार व्यक्त गर्दै यस्ता साहित्यिक कार्यक्रमले नेपाली गजल साहित्यको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा राज लम्साल यात्री, भूमा अधिकारी, सुनिल अधिकारी, अस्मित धमला, समीक्षा दाहालद्वारा कृतिभित्रका पाँचओटा गजलको साङ्गीतिक प्रस्तुति गरिएको थियो । मिश्रा गुरुङ, मुना आत्रेय, रमेश निरौला तथा हरि पराजुलीले कृतिभित्रका एक एकओटा गजल वाचन गरेका थिए ।
सुन्दरहरैँचा –८, सलकपुर, मोरङ निवासी यात्री गीत र गजल विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा हुन् । साहित्य पोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल, सगरमाथा साहित्य प्रतिष्ठानलगायतका साहित्यिक संस्थामा आबद्ध रहँदै आएका उनको यो पहिलो एकल कृति रहेको छ । उनका यसअघि नै विभिन्न संयुक्त कृति प्रकाशित भइसकेका छन् । यस कृतिलाई साहित्य पोस्टले प्रकाशनमा ल्याएको हो । कोसी साहित्य–कला परिषद् नेपालका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।





