इटहरी । सुनसरीको गछियास्थित सेश नारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स/लियो क्लब अफ इटहरी पाथीभरा र लायन्स/लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट 325C का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल रहनुभएको थियो। विशिष्ट अतिथिमा डिष्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लायन लोकेन्द्र प्रसाद ढकाल, जीएसटी कोअर्डिनेटर लायन भोजराज दाहाल, जोन चेयरपर्सन लायन चन्द्र श्रेष्ठ तथा लायन्स क्लब अफ इटहरी एक्टिभका सचिव लायन गोपाल निरौलाको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पाथीभरा इटहरीका अध्यक्ष रवीन्द्र निरौलाले गर्नुभएको थियो। अध्यक्ष निरौलाले दिव्यधाममा गरिएको सहयोग तथा वृक्षरोपणले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

प्रमुख अतिथि लायन उदय नारायण बरालले लायन्स क्लबले सामाजिक सेवासँगै धार्मिक तथा मानवीय कार्यलाई समेत प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।

कार्यक्रममा लायन्स क्लब अफ पाथीभरा इटहरीका निवर्तमान अध्यक्ष लायन कमल तिम्सिना, लियो क्लब अफ इटहरी पाथिभराका अध्यक्ष आयुष ढुंगेल, लियो क्लब अफ इटहरी एक्टिभका अध्यक्ष प्रिन्स अधिकारी लगायत लायन्स तथा लियो क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सामाजिक सेवासँगै प्रकृति संरक्षणप्रति समुदायलाई सचेत बनाउने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया