सुन्दरहरैँचा / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा वरिष्ठ साहित्यकार तथा समाजसेवी कमला प्रसाईँका तीन महत्वपूर्ण कृतिहरू— ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह),‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) — को भव्य लोकार्पण कार्यक्रम न्युयोर्कस्थित नेपाली भान्छाघरमा सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका ओस्ती ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत प्रेमबहादुर बुढ थापाको विशेष उपस्थिति रहेको थियो। नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट प्रारम्भ भएको कार्यक्रमको प्रभावकारी सञ्चालन संस्थाकी महासचिव निरु न्यौपानेले गरेकी थिइन्। कार्यक्रममा नेपालबाट आएका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

विशेष अतिथिहरूमा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली साहित्य पत्रकार सङ्घका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा स्रष्टा समाज नेपालका अध्यक्ष वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’, नेपाल प्रज्ञा–प्रतिष्ठानका सहसचिव तथा साहित्यकार सन्ध्या पहाडी, अनेसास केन्द्रका निवर्तमान अध्यक्ष गोवर्धन पूजा, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष तथा सल्लाहकार राम खत्री, जीपीके फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे तथा कलाकार वीरेन्द्र हमाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा संस्थाकी उपाध्यक्ष नदिया लिबाङले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित साहित्यप्रेमी, अतिथि तथा शुभेच्छुकहरूलाई हार्दिक स्वागत गरेकी थिइन्। त्यसपछि प्रमुख अतिथि, विशेष अतिथिहरू तथा अध्यक्षको संयुक्त उपस्थितिमा साहित्यकार कमला प्रसाईँका तीनै कृतिहरूको भव्य लोकार्पण गरिएको थियो।

संस्थाका सचिव विष्णुहरि भण्डारीले साहित्यकार प्रसाईँको जीवनवृत्त, साहित्यिक यात्रा तथा सिर्जनात्मक योगदानमाथि प्रकाश पार्दै नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको विशिष्ट योगदानको चर्चा गरेका थिए। करिब ९५ भन्दा बढी वरिष्ठ तथा नवोदित साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा अनेसास केन्द्रका प्रतिनिधिहरूका साथै न्युजर्सी र बोस्टनबाट आएका साहित्यप्रेमीहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

लोकार्पणपश्चात् आयोजित समीक्षात्मक सत्रमा विमोचित कृतिहरूमाथि गहन चर्चा गरिएको थियो। वक्ताहरूले कृतिहरूमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक यथार्थ, जीवनका विविध आयाम तथा भाषिक सौन्दर्यबारे आफ्ना धारणा राख्दै स्रष्टाप्रति शुभकामना व्यक्त गरेका थिए।
यस अवसरमा साहित्यकार आनन्द श्रेष्ठ, साहित्यकार किशनसिंह धामी, निर्देशक तथा साहित्यिक व्यक्तित्व किशोर सुब्बा तथा ‘सानोमास्टर’का सर्जक प्राध्यापक डा. गोविन्द कोइरालाले कृतिहरूमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै साहित्यकार प्रसाईँको सिर्जनात्मक क्षमता र साहित्यिक योगदानको उच्च प्रशंसा गरेका थिए।

कार्यक्रमको अन्त्यमा कृतिकार कमला प्रसाईँले आफ्ना कृतिहरूमा जीवनका यथार्थ भोगाइ, अनुभूति, संघर्ष र संवेदनालाई कविता, गीत तथा नाटकमार्फत कलात्मक ढङ्गले अभिव्यक्त गर्ने प्रयास गरिएको बताइन्। उनले सिर्जनादेखि प्रकाशन र लोकार्पणसम्मको यात्राका अनुभवहरू साझा गर्दै आयोजक, समीक्षक, अतिथि तथा उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्। साहित्य, सिर्जना र संवादको अनुपम संगम बनेको उक्त कार्यक्रम नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा अनेसास न्युयोर्क च्याप्टरले निर्वाह गर्दै आएको सक्रिय भूमिकाको अर्को सफल उदाहरणका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया