सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा शनिबारदेखि सुरु भएको चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी भएको छ।
बेलबारीले पथरी शनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो। बेलबारीका लागि विल्सन गिरी र अश्विन गौतमले एक–एक गोल गरे । पथरी शनिश्चरेका सउरे राउतले एक गोल फर्काएका थिए। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले गरेका थिए । उनले शुभकामना मन्तव्य व्यक्त गर्दै फुटबलको विकासबिना समग्र खेलकुद क्षेत्रको उदय सम्भव नहुने बताए । मन्त्री पराजुलीले खेलाडीहरू खेलकै भरमा जीवनयापन गर्न सक्ने अवस्था अझै सिर्जना हुन नसकेको उल्लेख गर्दै राज्यले खेलाडीलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखे । खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरको समग्र खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताए । सुन्दरहरैँचा नगर खेलकुद विकास समितिद्वारा आयाेजित प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत आइतवारकाे खेल आयोजक सुन्दरहरैँचा नगरपालिका र उदयपुरको बेलका नगरपालिका बीच हुने जानकारी प्राप्त भएको छ ।





