मणिराम दाहाल / सुन्दरहरैँचा
सुन्दरहरैँचा नगरपालिका निवासी समाजसेवी, व्यवसायी तथा राजनीतिज्ञ देवराज तामाङ मोक्तान लामो समयदेखि सामाजिक सेवा, राजनीति तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले सुन्दरहरैँचाको समृद्धि, सुशासन तथा दिगो विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताएका छन्। तामाङ आगामी स्थानीय तह निर्वाचनमा नगरको नेतृत्व सम्हाल्ने तयारीमा देखिएका छन्। वि.सं. २०३५ साल वैशाख २० गते जन्मिएका तामाङका बुबा मानबहादुर तामाङ र आमा कौशिला तामाङ हुन्। सिभिल इन्जिनियरिङ डिप्लोमा अध्ययन पूरा गरेका उनले सुरुवाती चरणमा विभिन्न कन्सल्टेन्सी संस्थामा काम गर्दै व्यावसायिक अनुभव हासिल गरेका थिए। त्यसपछि व्यवसायसँगै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
तामाङले शिक्षा, खेलकुद, धार्मिक तथा सामाजिक क्षेत्रमा निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्। मठमन्दिर, विद्यालय, खेलकुद संस्था तथा विभिन्न सामाजिक अभियानहरूमा उनले उल्लेखनीय योगदान पुर्याएको स्थानीयवासीहरू बताउँछन्।समाजसेवाप्रतिको उनको सक्रियताले उनलाई स्थानीय समुदायबीच विश्वासिलो र सहयोगी व्यक्तित्वका रूपमा स्थापित गरेको छ। राजनीतिक यात्रा वि.सं. २०४९ सालदेखि सुरु गरेका तामाङ स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को विचारधाराप्रति आकर्षित थिए। लामो राजनीतिक अनुभवसँगै सामाजिक कार्यलाई समानान्तर रूपमा अगाडि बढाउँदै आएका उनी जनताको सुख-दुःखमा साथ दिने नेताका रूपमा परिचित छन्।
व्यवसायिक क्षेत्रमा पनि सफल मानिएका तामाङले “लामा सप्लायर्स” लगायतका विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनका अनुसार हाल १७ जना युवाले स्वदेशमै रोजगारी पाइरहेका छन्। स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने कार्यलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्। भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउने कार्य रोक्न केही समयअघि सरकारसमक्ष आग्रह गर्दै उनले सामाजिक न्याय र मानवीय संवेदनशीलताको पक्षमा आवाज उठाएका थिए।
आगामी स्थानीय तह निर्वाचनमा पार्टीले अवसर दिए र जनताको साथ–समर्थन प्राप्त भएमा सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गर्दै तामाङ भन्छन्, “अन्य पेशा–व्यवसायसँगै सामाजिक सेवा र राजनीति गर्दै आएको छु। जनताले विश्वास गरे नगरको समग्र विकास र सेवामा समर्पित भएर काम गर्नेछु।” उनको दृष्टिमा समृद्ध, सुरक्षित, शिक्षित र समावेशी सुन्दरहरैँचा निर्माण नै मुख्य उद्देश्य हो। गुणस्तरीय पूर्वाधार विकास, आधुनिक शिक्षा, स्थानीय स्तरमा रोजगारी सिर्जना, महिला तथा युवाको सशक्तीकरण र सबै समुदायको समान सहभागितामा आधारित विकास योजनालाई उनले प्राथमिकतामा राखेका छन्। ‘सेवा मेरो उद्देश्य, विकास हाम्रो प्रतिबद्धता, भविष्य हाम्रो जिम्मेवारी’ भन्ने नारासहित मेयर पदमा उम्मेदवारीको संकेत तामाङले प्रस्तुत गरेका छन् ।
विभिन्न संघ संस्थामा आबद्व रहेर स्थानीय स्तरमा परिचित र लोकप्रिय मानिएका तामाङ आफूलाई अनुशासित, पारदर्शी र परिणाममुखी नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनी भन्छन्, “सही नेतृत्वले सही दिशा दिन सक्छ। सुन्दरहरैँचालाई समृद्ध नगरका रूपमा विकास गर्नु हाम्रो साझा जिम्मेवारी हो।” “सेवा मेरो उद्देश्य, विकास हाम्रो प्रतिबद्धता, भविष्य हाम्रो जिम्मेवारी” भन्ने नारासहित देवराज तामाङ मोक्तानले सुन्दरहरैँचाको विकास यात्रामा नयाँ ऊर्जा र दूरदर्शी सोचको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





