सुन्दरहरैचा / घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरको आयोजनामा सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित शिव पञ्चायन मन्दिर परिसरमा ७ दिने अचार बनाउने तालिम सुरु भएको छ।
महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सुन्दरहरैचा नगरपालिका वडा नं. १, ६, ७ र ८ का ३५ जना विवाहित महिलाहरू सहभागी भएका छन्। सहभागीमध्ये करिब २५ प्रतिशत महिलाले यसअघि नै अचार उत्पादन तथा बिक्रीको व्यवसाय सञ्चालन गर्दै आएका छन् । बाँकी सहभागी नयाँ उद्यमी बन्ने लक्ष्यका साथ तालिममा आबद्ध भएका हुन्।
तालिममा विभिन्न प्रकारका अचार उत्पादन, खाद्य स्वच्छता, प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ। तालिमबाट महिलाहरूलाई आयआर्जनमा टेवा पुग्नुका साथै स्थानीय स्तरमै लघु उद्यम स्थापना गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समन्वय सुन्दरहरैचा महिला मञ्चले गरेको छ। आयोजकका अनुसार तालिमपश्चात सहभागी महिलाहरूलाई व्यवसाय विस्तार तथा उद्यम सञ्चालनका लागि आवश्यक परामर्शसमेत उपलब्ध गराइनेछ।





