सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाको उपमेयर सीप विकास कार्यक्रमअन्तर्गत वडा नं. १२ मा मकैको खोस्टाबाट झ्याग, पर्स तथा सजावटी सामग्री निर्माण तालिम शुभारम्भ गरिएको छ।

१५ दिने उक्त तालिममा १५ जना सहभागी रहेका छन्। तालिमको उद्घाटन गर्दै उपप्रमुख अकली चौधरीले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी आयआर्जन तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो।

उहाँले मकैको खोस्टाजस्ता सामान्य रूपमा खेर जाने सामग्रीलाई उपयोग गरी आकर्षक तथा बजारयोग्य उत्पादन निर्माण गर्न सकिने भएकाले यसले उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख गुणनिधी दाहालले तालिमको उद्देश्य र कार्यक्रमबारे जानकारी गराउँदै स्थानीय स्रोतमा आधारित उद्यम विकास, आयआर्जन वृद्धि तथा महिलाहरूको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर तालिम सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार तालिममा मकैको खोस्टा संकलन, प्रशोधन, रङ्गाइ तथा सुकाउने विधि, डिजाइन विकास, झ्याग, पर्स तथा विभिन्न सजावटी सामग्री निर्माण, गुणस्तर व्यवस्थापन, लागत तथा मूल्य निर्धारण, प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

१५ दिनसम्म सञ्चालन हुने उक्त तालिमबाट सहभागीहरूले स्थानीय कच्चा पदार्थको उपयोग गरी व्यावसायिक उत्पादन गर्न सक्ने सीप हासिल गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमले स्थानीय उत्पादन प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वरोजगार सिर्जनामा टेवा पुग्ने नगरपालिकाको विश्वास रहेको छ। ~ एलएन गच्छदार

तपाईको प्रतिक्रिया