सुन्दरहरैँचा / विद्यार्थीहरूलाई मनोरञ्जनमार्फत सकारात्मक सन्देश र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा ९ स्थित बाल सदन एकेडेमीले विराटचोकको विराट सिने हल रिजर्भ गरी नेपाली चलचित्र ‘रोल नं. १’ प्रदर्शन गरेको छ।

बाल मनोविज्ञान, शिक्षा र प्रतिस्पर्धाको दबाबलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले विद्यार्थीहरूलाई मनोरञ्जनसँगै महत्वपूर्ण सिकाइ पनि प्रदान गरेको विद्यालयले जनाएको छ।

विद्यालयका प्रबन्ध निर्देशक सूर्य दंगालले चलचित्र हेर्नु केवल मनोरञ्जनका लागि मात्र नभई जीवन र समाजलाई बुझ्ने माध्यम पनि भएको बताउँदै यस्ता शैक्षिक तथा प्रेरणादायी गतिविधिले विद्यार्थीको सोच, आत्मविश्वास र व्यवहारिक ज्ञान विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे।

त्यस्तै विद्यालयका प्रिन्सिपल निरज ढकालले कक्षाकोठाभित्रको सिकाइलाई व्यवहारिक अनुभवसँग जोड्न विद्यालयले समय–समयमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गरे । उनले चलचित्रले विद्यार्थीलाई अनुशासन, मेहनत र सही लक्ष्य निर्धारणतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले चलचित्र रुचिपूर्वक अवलोकन गरेका थिए। मनोरञ्जन र शिक्षालाई एकैसाथ जोड्ने विद्यालयको प्रयासको अभिभावक तथा शिक्षकहरूले समेत प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया