मणिराम दाहाल / सुन्दरहरैँचा
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई इटहरीमा भव्य स्वागत गरिएको छ ।
नेपालबिट इटहरीको आयोजनामा इटहरीस्थित माइतीघर क्याफेमा सम्पन्न ‘इटहरी–प्रज्ञा–संवाद’ कार्यक्रममा २२ जना साहित्यकारले समसामयिक कविता वाचन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले “भाषा, साहित्य र कलाको विकास नै देशको दिगो तथा असल विकासको आधार” भएको उल्लेख गरे । नेपालका गाउँगाउँमा १२४ भाषा बोलिने तथ्य प्रस्तुत गर्दै उनले ज्ञान गाउँमै निहित रहेको र त्यसको संरक्षण तथा सम्वर्द्धन गर्न प्रज्ञा प्रतिष्ठानले थप सक्रियता देखाउनुपर्ने बताए । उनले विगतमा प्राज्ञहरू काठमाडौंस्थित प्रज्ञा भवनमै सीमित हुँदा भाषा–साहित्यले अपेक्षित उन्नति गर्न नसकेको धारणा व्यक्त गरे । पछिल्लो एक वर्षयता केही स्थानमा ‘रैथाने ज्ञान उत्सव’ आयोजना गरिएको र विद्यालय केन्द्रित ‘कुलपति कार्यक्रम’ सञ्चालन गर्दा धेरैले प्रज्ञा प्रतिष्ठानबारे जानकारी नपाएको गुनासो सुनिएको अनुभव पनि उनले साझा गरे ।
साहित्यकारहरूले प्रदेश तथा स्थानीय तहमा साहित्यिक संस्था गठनका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा कुलपति राईले तीन वटा प्रदेशमा संस्था गठन भइसकेको तर बाँकी प्रदेशमा मुख्यमन्त्री नै कुलपति वा अध्यक्ष रहने व्यवस्थाले साहित्यकारहरूलाई स्वायत्त हुन नदिएको कारण गठन प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिए ।
“माटोसँगको सम्बन्ध बिर्सेर सजिलै प्रसिद्धि कमाउने प्रवृत्तिले साहित्य, संगीत र कलाको वर्तमान अवस्था चुनौतीपूर्ण बनेको छ,” भन्दै उनले सभ्यता र संस्कार जोगाउन स्रष्टाहरू सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालबिट इटहरीका अध्यक्ष राम खरेलले प्रज्ञा प्रतिष्ठानको सहयोगमा निर्वाचनपछि ‘इटहरी काव्यसभा’ आयोजना गरिने जानकारी गराए । शिक्षासेवी लेखनाथ घिमिरे तथा अग्रज पत्रकार एवं साहित्यकार कृष्णविनोद लम्सालले इटहरीको साहित्यिक तथा सांस्कृतिक गतिविधिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सांसद मिना श्रेष्ठसहित साहित्यकारहरू कृष्ण अधिकारी, भरत गुरागाईं ‘बर्बरिक’, गोपाल देवान, राज आशातीत, पुरन याख्खा, श्रीप्रसाद पोखरेल, लोकदोहोरी गायिका गङ्गा गौतम, कवयित्री मिश्रा गुरुङ, शकुन्तला मञ्जरी लगायतले कविता वाचन गरेका थिए । साेहि कार्यक्रममा कृष्ण नेपाल, एलपी पराजुली, भवानी नेपाल, किरण टी लिम्बू, केपी घिमिरे, रमेश निरौला, रमेश अधिकारी सहित सुनसरी र मोरङका २३ जना कवि–कवयित्रीहरूद्वारा कविता वाचन भएको थियाे।





